बैशाख १८, २०८१ मंगलबार Tue Apr 30 2024

भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त



काठमाडौं । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । संघले आर्मीका सेटर हरि हजुर थापालाई राष्ट्रिय टिमको नेतृत्व गर्न नसकेको भन्दै कप्तानबाट बर्खास्त गरेपछि कप्तान पद खाली थियो ।

गत महिना मात्र कीर्गिस्तानमा भएको काभा नेसन्स लिगका लागि खुल्ला छनोटमा नियमित कप्तान इम राना मगरले भाग नलिएपछि संघले हरि हजुरलाई कप्तान बनाएको थियो ।

सातौं पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल दौरान गण्डकीविरुद्धको खेलमा थापाले कप्तानको भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको र कर्तव्यविमुख भएको भन्दै संघले उनलाई कप्तानबाट हटाएको थियो ।

अघिल्लो सोमबार गण्डकीविरुद्धको खेलमा तनाव उत्पन्न हुँदा आर्मीका धनबहादुर भट्टले दर्शकलाई नै कुटेका थिए । संघले धनबहादुरलाई ६ महिनाका लागि निलम्बन नै गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : २४ बजे