बैशाख २१, २०८१ शुक्रबार Fri May 3 2024

यमुना नदीको पानी ४५ वर्षपछि ताजमहल छिर्‍यो



एजेन्सी । भारतमा लगातारको वर्षापछि यमुना नदीमा आएको बाढीले खतराको स्तर पार गरेको छ । यमुना नदीको पानी अझै पनि खतराको चिन्ह २०५।३३ मिटर माथि बगिरहेको छ । योसँगै यमुना नदीको पानी ४५ वर्षपछि ताजमहलको पर्खालमा पुगेको छ ।

गढमुक्तेश्वरमा पनि गंगाको जलस्तर १३ वर्षपछि पहेँलो निशानभन्दा माथि छ । ब्रजघाटमा गंगाको पानी आरती स्थल नजिकैको सिँढीमा पुगेको छ । हिमाचल प्रदेशमा पनि आइतबार धेरै जिल्लामा पानी परेको छ ।

भारतको मौसम पूर्वानुमान महाशाखाको पछिल्लो पूर्वानुमानमा राज्यका सबै जिल्लामा भारी वर्षा हुने चेतावनी दिइएको छ । यस अवधिमा केही स्थानमा बादल फाट्ने र बाढी आउन सक्ने चेतावनी दिइएको छ। दिल्लीमा पनि तीन दिनसम्म हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार उत्तर प्रदेशका अधिकांश जिल्लामा वर्षा भएको थियो । जसकारण नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । आगराको दक्षिणी किनारमा एटमदौलाको यमुना किनारमा रहेको चेम्बरमा एकदेखि डेढ फिटसम्म पानी भरिएको छ ।

ताजमहलको छेउमा यमुनाको किनारमा बनेको बगैँचा बाढीले बगाएको थियो । यसअघि सन् १९७८ को बाढीमा यमुनाको पानी ताजमहलको तहखानेसम्म पुगेको थियो। सीमावर्ती गाउँमा पानी डुबेको छ । प्रशासनले रेड अलर्ट जारी गरेको छ ।

आइतबार हिमाचल प्रदेशका अधिकांश स्थानमा पानी परेको छ । मण्डीमा घरको छाना खस्दा दुई जनाको मृत्यु भएको छ भने पदयात्रा गर्न गएका दुई जनाको शव हिउँमा पुरिएको अवस्थामा फेला परेको छ । रातभरको वर्षाका कारण बद्रीनाथ र हेमकुण्ड यात्राका १५ सयभन्दा बढी तीर्थयात्री अलपत्र परेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ९ : ०५ बजे