जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

मानवअधिकार आयोगलाई बलियो बनाउँछु : प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने जानकारी दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोगका पदाधिकारीहरूसँगको भेटमा उनले आयोगलाई बलियो बनाउने आफ्नो प्रयत्न रहने बताए ।

प्रधानमन्त्री दाहालले भने, “नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिन्छ । आयोग कस्तो छ, यो कति शक्तिशाली छ, साधनस्रोतले कति सबल छ भन्ने कुराले नेपालको मानवअधिकारको स्थिति के छ ? भन्ने कुरा मापन हुन्छ । तसर्थ, आयोगलाई शक्तिशाली र साधनस्रोत सम्पन्न बनाउने कुराको सबैभन्दा ठूलो महत्व र भूमिका छ ।”

लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा आफू गम्भीर रहेको जनाउँदै उनले आयोगका सातवटै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानुनी राज्य र जनताको मानवअधिकारलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताए । “यो सरकार मानवअधिकारप्रति संवेदनशील छ”, उउनले भने ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ५ : १८ बजे