बैशाख १६, २०८१ आइतबार Mon Apr 29 2024

थोरै जग्गामा धेरै तरकारी फलाएर गतिलो आम्दानी गर्दै बैतडाका दल बहादुर



कञ्चनपुर । वेदकोट नगरपालिका ४ बैतडाका दल बहादुर बोहराले थोरै जग्गामा तरकारी खेती गरी घर खर्च सहज रुपमा चलाउदै आउनु भएको छ । चार कठ्ठा जग्गामा व्यवसायीक तरकारी खेती गरेर उहाँले वर्षमा रु दुई लाख बढी आम्दानी गर्दै आउनु भएको छ । बाह्रै महिना बोहराको बारीमा तरकारी खेती मात्रै हुने गरेको छ ।

तरकारी खेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो उहाँलाई अहिले घर खर्च चलाउन भारत जानु परेको छैन । कोरोना महामारीका कारण भारतीय शहर बैंग्लोरमा सेल्समेनको जागिर छुटेपछि बोहरा तीन वर्ष अघि घर फर्केका हुन । घर फर्केका बोहराले तीन वर्ष देखि व्यवसायीक रुपमा तरकारी खेती गर्दै आउनु भएको छ ।

तरकारी खेतीबाटै उहाँको परिवारको घर खर्च सहज रुपमा चल्न थालेको छ । “विगतमा भारतमा काम गरेर घर खर्च चलाउदै आएको थिए, महिनाको १०÷१२ हजार जति पर्दथ्यो” बोहराले भन्नु भयो, “कोरोनाका कारण कम्पनी बन्द भएपछि बेखर्चि भएर घर फर्के, फर्केर केही दिन मजदुरी गरे, त्यसबाट घर खर्च चलाउन सकिने अबस्था भएन ।” उहाँ भन्नु हुन्छ, “मोवाईलमा यु टयुव हेर्थे, थोरै जग्गामा पनि मौसमी बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी गरेको देखे,त्यस पछि तरकारी खेती गर्ने निधो गरे, तरकारी खेती त गर्ने कसरी गर्ने भन्ने प्रश्न उव्जीन थाल्यो ।”

“तरकारी खेती शुरु गर्नका लागि बीउविजन, मलखाद खरिद गर्ने पैशा थिएन, जेजस्तो होला होला भन्ने भावना मनमा पैदा भयो” अगाडी थप्दै बोहरा भन्नु हुन्छ,“साथीभाई र छिमेकीबाट सापटी पैशा लिएर यु टयुवबाट तरकारी लगाउने विधि सिक्दै तरकारी रोपे, पहिलो सिजनमै सापटी लिएको पैशा तिर्न भ्याएर र घर खर्च चल्ने सम्मको आम्दानी भयो ।”

बोहराले तरकारी खेती गर्ने जग्गा भने चार कठ्ठा जती मात्रै रहेको छ । त्यही जग्गामा काउली, गोलभेडा, काँक्रा, तितेकरेला, बोडी, आलु लगायतको तरकारी मौसमी र बेमौसमी रुपमा लगाउदै आउनु भएको छ । तरकारी खेतीबाट आएको आम्दानीको पैशा खर्च गरेर उहाँले दुई वटा प्लाष्टिक टनेल निर्माण गर्नु भएको छ । आलु लगायतका मौसमी तरकारी टनेल बाहिरै रोपेर उहाँले आम्दानी गर्दै आउनु भएको छ । अन्य लहरे तरकारी टनेल भित्रै रोप्ने गर्नु हुन्छ । तरकारी खेतीकै लागि उहाँले वर्षमा रु ६५ हजार बढी लगानी गदैैै आउनु भएको छ । लगानी कटाएर वर्षमा रु एक लाख देखि रु एक लाख ८० हजार सम्म उहाँले आम्दानी गर्दै आउनु भएको छ । तीन जनाको परिवारका लागि लताकपडा, खाद्यान्न र अन्य खर्च चल्ने गरेको बोहरा बताउनु हुन्छ ।

“श्रीमतीले दिउसो पख् नीजि विद्यालयमा थोरै तलवमा काम गर्छिन” उहाँले भन्नु भयो, “तलव वाफत आउने रकम र तरकारी बिक्री गरेर आउने रकमले तीन जनाको परिवारको घर खर्च सहज रुपमा चल्छ, विद्यालयबाट फर्के पछि श्रीमतीले पनि तरकारी खेती गर्नमा सघाउने गरेकी छिन ।”उत्पादीत तरकारी अधिकांस बारीबाटै बिक्री हुने गरेको छ । बिक्री हुन नसकेको तरकारी बोहराले साईकलमा राखेर गाउँ डुलाउदै बेच्ने गर्नु हुन्छ । तरकारी खेतीमै भविष्यका सपना बुन्न थालेकाले थप जग्गा भाडामा खोजेर ठुलो परिणामा तरकारी उत्पादन गर्ने धोको रहेको बोहरा बताउनु हुन्छ । बैतोडा गाउँमा व्यवसायीक तरकारी खेती गर्ने बोहरा एक्ला किसान हुन ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ९ : ३९ बजे