जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

भानु नगरपालिकाद्वारा कैदीबन्दीलाई खाट सहयोग



राजकुमार बजगाई

काठमाडौं । तनहुँको भानु नगरपालिकाले जिल्ला कारागार तनहुँलाई खाट हस्तान्तरण गरेको छ । कैदीबन्दीलाई सुत्नका लागि सहज होस् भन्ने उद्देश्यसहित नगरपालिकाले कारागारलाई खाट प्रदान गरेको हो ।

नगरप्रमुख आनन्दराज त्रिपाठीले १४ थान ‘डबल बेड’ साइजको खाट हस्तान्तरण गरेका हुन् । उनले कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीलाई ती खाट हस्तान्तरण गर्दै नगरपालिकाले सामाजिक उत्तरदायित्वअन्तर्गत रु एक लाख बराबरको खाट सहयोग गरेको बताए । उनले भने , “कैदीबन्दीको सहजताका लागि विभिन्न पालिकाले सहयोग गरिरहेको थियो, कारागारका तर्फबाट हामीलाई पनि अनुरोध भएबमोजिम सहयोग गरेका हौँ ।”

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले कारागारलाई सुधारगृहको रूपमा विकास गर्ने योजना रहेको बताए । कारागारलाई यसअघि व्यास नगरपालिकाको तर्फबाट ४०, म्याग्दे गाउँपालिकाको तर्फबाट ११, बन्दीपुर गाउँपालिकाको तर्फबाट पाँच, क्रिष्टिना गुरुङको तर्फबाट छ थान खाट सहयोग भइसकेको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिकाले रु ५० हजार सहयोग गरेको थियो । देवघाट र घिरिङ गाउँपालिकालाई पनि सहयोगका लागि अनुरोध गरिएको निमित्त कारागार प्रमुख अधिकारीले बताए ।

कारागार तनहुँका कैदीबन्दीका लागि नयाँ भवन निर्माण भएको छ । यसअघि पुरानो भवन हुँदा क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण भुइँमा सुत्नुपर्ने बाध्यता थियो । एक सय ३५ जना क्षमताको कारागारमा हाल दुई सय ९५ कैदीबन्दी छन् । ९ए० ब्लकमा एक सय २६, ९बी० ब्लकमा एक सय ५० र ९सी० ब्लकमा १९ जना कैदीबन्दी छन् ।

उपेक्षामा सहिद गाउँ

तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा सहिद उद्यान छ । सो उद्यानका स्मारकमा सहिद भरत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको लहरै अर्धकदको सालिक छन् । राणाशासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा ज्यान गुमाए यी सबै सहिद पुलिमराङमा जन्मिएका थिए ।

विसं २००७ माघ १ गते बन्दीपुरमा राणा शासनविरुद्धको आन्दोलनमा पुलिमराङका धर्मध्वजले सहादत प्राप्त गरे । विसं २०१८ मा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको लडाइँमा पुलिमराङका लालध्वज, सर्वसिंह र हस्तवीरले कोत्रेमा सहादत प्राप्त गरे । शम्शेरबहादुर भरतपुरमा र भरत पुलिमराङमै मारिए । राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको लडाइँँमा पुलिमराङ गाउँका छ जना सहिद बने ।

व्यवस्था परिर्वतनको लडाइँमा होमिएर छ जना सहिद भए पनि पुलिमराङवासीले चाहेजस्तो गाउँ विकास हुनसकेको छैन । राजनीतिक खिचातानीले देशका लागि बलिदानी दिएका सहिदको उपेक्षा भएको स्थानीयवासीको गुनासो छ ।

गाउँमा अझै हिउँदमा मात्रै मोटर चल्न सक्ने सडक छ । बेलामै विकासले गाउँलाई नछुँदा गुज्लार गाउँ रित्तिएको छ । बूढापाकाले मात्र घर कुर्नुपर्ने बाध्यता छ । एउटै गाउँका छ जना सहिदले ज्यान गुमाएको गाउँमा विकास हुन नसकेको स्थानीयवासी टेकबहादुर गुरुङको गुनासो छ ।

सहिद परिवार र गाउँको पहिचान राज्यले गर्न नसकेको उनले भने । गाउँको विकासका लागि सरकारले अपहेलना गरेको जनाउँदै सहिद स्मारक बनाउन पनि आफूहरुले दुःख गर्नुपरेको उनको गुनासो रहेको छ । सहिद पार्क बनाउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहल गरेका थिए ।
विसं २०६६ मा सहिद स्मारक बनाएर छ सहिदको अर्धकदको सालिक राखियो । ती सालिकको एक दशकपछि अनावरण गरिएको थियो विसं २०७५ मा सहिद दिवसका अवसरमा सालिक अनावरण गरिएको थियो ।

बयालीस रोपनी क्षेत्रफलमा फैलिएको सो उद्यानलाई आकर्षक बनाउन रु आठ करोड ६७ लाखको बृहत् गुरुयोजना तयार गरिएको छ । गुरुयोजनाअनुसार काम गर्न बजेटको अभाव भएको स्मारक समितिका अध्यक्ष एकबहादुर गुरुङले बताए ।

पुलिमराङको प्रवद्र्धनका लागि व्यास नगरपालिकाले बर्सेनि सहिद दिवसको अवसर पारेर मानुङकोटबाट अल्ट्रा म्याराथन गर्दै आएको छ । मानुङकोट र पुलिमराङलाई खेलकुदका माध्यमबाट जोड्ने उद्देश्य राखिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ११ : ०३ बजे