माघ १४, २०७९ शनिबार Sun Jan 29 2023

खेतमात्र होइन नेपालको प्यारा ताल नै भारतमा



कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–१०, सडकघाटका हरिलाल चौधरीको १५ कट्ठा जग्गा सीमा क्षेत्रमा छ। उहाँका बुवाले ०२४ सालदेखि उक्त जग्गा भोगचलन सुरु गर्नुभएको थियो । चौधरीसँग जग्गाको लालपुर्जा पनि छ। यसपटक भने भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले चौधरीलाई खेत जोत्न दिएन। ‘

०२४ सालदेखि भोगचलन गर्दै आएको जग्गा एसएसबीले जोत्न दिएन,’ चौधरीले भन्नुभयो– ‘यस्तो समस्या मेरो मात्रै होइन धेरैको छ। लालपुर्जा भए पनि यहाँ ४र५ जनाले जग्गा भोगचलन गर्न पाएका छैनन्।’ सो क्षेत्रमा मात्रै लालपुर्जा भएको ४ बिघा जग्गा अहिले आएर एसएसबीले उपभोग गर्न रोक लगाएको छ। चौधरीका अनुसार एसएसबीले हामीसँग भएको नक्सामा यो जग्गा भारतमा परेकाले रोक लगाएको बताउने गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक अमर ऐरका अनुसार एसएसबीले खेत जोत्न अवरोध गरेपछि जेठ तेस्रो साता नै तत्कालका लागि सडकघाटमा जमिन जोत्न दिने सहमति भएको थियो। ‘संयुक्त सर्वेक्षण टोली नआउँदासम्म जस्तो अवस्थामा छ, सोहीअनुसार खेत भोगचलन गर्न दिने सहमति भएको थियो,’ एसपी ऐरले भन्नुभयो– ‘तर कार्यान्वयन भएको छैन।’

जग्गाधनी चौधरीका अनुसार आफ्नै जग्गामा बर्खे बाली लगाउन नपाएपछि स्थानीय भने चिन्तित भएका छन्। ‘समस्या समाधानका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, बेलौरी नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पटकपटक अनुरोध गरेका थियौं,’ चौधरीले भन्नुभयो– ‘तर एसएसबीले गुगल म्यापको आधारमा खेत भारतमा पर्ने भन्दै उपभोग गर्न दिएको छैन।’ बेलौरी नगरपालिकाको पचुँइमा निर्माणाधीन हुलाकी सडकको काममा पनि एसएसबीले अवरोध गरेको छ। उक्त क्षेत्र दशगजामा पर्ने भन्दै एसएसबीले एक किलोमिटरभन्दा बढी सडक निर्माणमा अवरोध गरिरहेको छ। सबै क्षेत्र कालोपत्रे भएको हुलाकी सडक उक्त क्षेत्रमा भने कच्ची छ।

बेलौरी मात्रै होइन बेल्डाँडीमा पनि सीमा समस्या बढ्दो छ। ०५८ सालदेखि ०६३ सालसम्म खटिएको संयुक्त सीमा सर्भे टोलीले बनाएको स्ट्रीप नक्साका कारण बेल्डाँडी गाउँपालिका–३ का वडा अध्यक्ष दुर्गाप्रसाद चौधरीको साढे दुई बिघा जग्गामा भारतमा परेको छ। ‘मेरो ढाई बिघा जग्गा भारतमा देखाइएको छ,’ वडाध्यक्ष चौधरीले भन्नुभयो– ‘हाम्रो क्षेत्रको झण्डै ५० बिघा जग्गा भारतको बनाइदिएको छ।

आधाभन्दा बढी जग्गाको त लालपुर्जा नै छ। केही सामुदायिक वनको जग्गा पनि भारतमा परेको छ। समस्या समाधान गर्न पटकपटक मन्त्रालयमा ज्ञापनपत्रसहित पुगेका छौं तर समस्या झन् बल्झिरहेको छ।’ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका एसपी अमर ऐरका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारदेखि भीमदत्त नगरपालिका–९ ब्रह्मदेवसम्म १२९ किलोमिटर भारतसँग सीमा जोडिएको छ। ‘पुनर्वास, बेलौरी, बेल्डाँडी, दोधाराचाँदनी नगरपालिकामा बेलाबेला सीमा समस्या आइरहेका हुन्छन्,’ एसपी ऐरले भन्नुभयो– ‘यो समस्या समाधान गर्नका लागि सयुक्त सीमा सर्भे आवश्यक छ।’

जिल्लामा दर्जनौं ठाउँमा सीमास्तम्भ हराएका कारण सीमा विवाद झन् बल्झिदो छ। सीमा रक्षाकै क्रममा पुनर्वासका गोविन्द गौतम शहीद भएका थिए।

जिविसले एक पक्षीय ठेक्का लगाएको ताल नै भारततिर

०२८ सालदेखि पुनर्वास नगरपालिका– ९ बाम टोलमा बस्दै आएका राम जैशीका अनुसार तत्कालीन जिल्ला विकास समितिले प्यारा तालमा एक पक्षीय ठेक्का लगाउने गरेको थियो। ‘०४१र०४२ सालसम्म माछा मार्नका लागि उक्त तालमा कञ्चनपुर जिल्ला विकास समितिले ठेक्का लगाउँदै आएको थियो,’ उहाँले भन्नुभयो– ‘त्यसको केही वर्षपछि नेपाल–भारतको दोहोरो ठेक्का पनि थियो।

अहिले उक्त ताल भारतको कब्जामा छ। त्यहाँ नेपाली नागरिकलाई जानसमेत भारतीय सुरक्षाकर्मीले रोक्ने गरेका छन्।’ पाँच किलोमिटर लम्बाइ र ६० मिटर चौडाइ भएको उक्त तालमाथि झण्डै दुई दशकदेखि नै भारतले दाबी गर्दै आएको छ। पुनर्वास नगरपालिका वडा नं ९ का पूर्ववडा अध्यक्ष नारायण जैशीले भन्नुभयो– ‘०६१र०६२ सालमा संयुक्त सीमा सर्भे टोली खटिएको थियो। सोही टोलीले गरेको लापरबाहीका कारण प्यारा ताल भारतको कब्जामा पुगेको हो।’

वडा नम्बर ९ का अध्यक्ष नरबहादुर बिकका अनुसार प्यारा ताल भारतको कब्जामा हुँदा संरक्षण गर्न मुस्किल भएको छ। ‘तालको संरक्षणमा पनि भारतीय सुरक्षाकर्मीले अवरोध गर्दै आएका छन्,’ उहाँले भन्नुभयो– ‘१९५ नम्बरको जंगे पिल्लर प्यारा तालदेखि ६ सय मिटर टाढा भारततिर थियो। जो अहिले पनि ढलेको अवस्थामा छ तर भारतीय पक्षले तालमात्र नभएर ताल वरको नेपाली भू–भागलाई पनि आफ्नो भएको भन्दै सुरक्षा निगरानीमा राखेको छ।’

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ५ : ३७ बजे