असार ३२, २०८२ बुधबार Wed Jul 16 2025

सुदुरपश्चिमका महिला पत्रकारहरुलाई मुख्यमन्त्रीको आग्रह : ढुक्कका साथ कलम चलाउनुहोला



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ढुक्क भएर कलम चलाउन सुदुरपश्चिमका महिला पत्रकारहरूलाई आग्रह गरेका छन्।

नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समितिद्वारा कञ्चनपुरमा आयोजित पत्रकार महिलाहरूका लागि सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

‘पत्रकारहरू थुप्रै चुनौति पार गर्दै आइरहनु भएको छ,’ मुख्यमन्त्री शाहले भने, ‘यसबीचमा पनि धेरै जना पत्रकारिता पेशामा प्रवेश गरिरहनु भएको छ। उहाँहरूमा यो एउटा मर्यादित र इज्जतको पेशा हो भन्ने अनुभूति दिलाउनु पर्छ।’

उनले सीमित श्रोत र साधनबीच आर्थिक वर्ष २०८२/०८३ मा सुदूरपश्चिम प्रदेश सरकारले सञ्चारका १० क्षेत्रमा बजेट विनियोजन गरेको बताए।

सहिद दशरथ चन्द स्मृति पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना, पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम, आम सञ्चार तथा पत्रकारिता क्षेत्रको संस्थागत क्षमता अभिवृद्धि कार्यक्रम, राष्ट्रिय समाचार समितिको भवन निर्माण लगाएत क्षेत्रमा बजेट छुट्याइएको उनले बताए।

‘नेपाल टेलिभिजनको स्टुडियो निर्माण, नेपाल पत्रकार महासंघ कञ्चनपुर र डडेलधुराको भवन निर्माण, लोक कल्याणकारी विज्ञापन, आमसञ्चार, विपत र मानव अधिकारको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि इन्टर्न विद्यार्थी परिचालन कार्यक्रम, नेपाल पत्रकार महासंघ कैलाली अन्तर्गत सञ्चारकर्मीको संयुक्त आवास गृह निर्माणका लागि बजेट विनियोजन गरेका छौं,’ उनले भने।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ३ : ५३ बजे