चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

मल्होत्रा भन्छन्– महंगा फोनको आयात रोक्दा चोरी पैठारी बढ्छ



काठमाडौं । सरकारले विभिन्न १० प्रकारका सामग्रीको आयातामा पूर्णतः रोक लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीको आयातमा रोक लगाउने भएको हो।

रोक लगाइएका सामग्रीहरू मध्येमा ६ सय अमेरिकी डलरभन्दा बढी पर्ने स्मार्टफोन पनि परेको छ। सरकारको यो निर्णयले चोरी(पैठारी बढ्ने मोबाइल आयात संघका अध्यक्ष दीपक मल्होत्रा बताउँछन्।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेर मात्रै सरकारले आयात रोक्दा प्रभावकारी हुने उनको भनाइ छ।

‘एमडिएमएस लागू भएको भए कडाइ गर्दा राम्रै हुन्थ्यो। यो लागू नभएकाले झनै चोरी पैठारीको समस्या बढ्छ,’ उनले भने।

चोरी पैठारीबाट मोबाइल फोन भित्रिँदा झनै रेमिट्यान्स घट्ने उनले बताए। सरकारको यो निर्णयले चिनियाँ मोबाइललाई खासै असर नगरे पनि सामसङ र एप्पललाई भने ठूलो असर गर्ने देखिन्छ।

बजारमा महँगा फोन बिक्री गर्नेमा प्रमुख कम्पनीमा सामसङ र एप्पल पर्छ। सामसङसँग महँगा फोन एक हप्तालाई पुग्ने मात्रै मौज्दात रहेको उनको भनाइ छ। उनका अनुसार सरकारले महँगा फोनलाई नबुझेर विलासिताका रूपमा परिभाषित गरी आयात रोक्न नहुने हो।

‘महँगा फोनमा फिचर र उपयोगिता धेरै भएको हुनाले ग्राहक आकर्षित भएका हुन्,’ उनले भने, ‘यसलाई विलासिताको रूपमा बुझ्नु हुँदैन।’

उनका अनुसार महँगा फोनले आयातको कुल हिस्साको १० प्रतिशत पनि ओगटेको छैन। एप्पलका आधिकारिक बिक्रेता पवन भिमसरियाले महँगा फोन नआए पनि सस्ता फोन आउने जानकारी दिए।

‘हामीसँग महँगा फोन पनि मौज्दात छ। यो बीचमा महँगा नआए पनि सस्ता आउँछन्,’ उनले भने।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ४ : ४० बजे