२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

बौद्धिक नेता प्रदिप नेपालको निधन



काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो ।

अस्पतालले निधनको घोषणा गरेको नेपालका भाइ तथा एमाले नेता समिर नेपालले बताए ।

स्वास्थ्यमा जटिल समस्या आएपछि नेता नेपाललाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।

विसं. २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका नेपाल कम्युनिष्ट घटक कोअर्डिनेशन केन्द्र हुँदै नेकपा (माले) स्थापनाका एक महत्त्वपूर्ण नेताका रुपमा परिचित छन् । २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर उनले राजनीतिक जीवन प्रारम्भ गरेका थिए ।

नेकपा (माले) स्थापनापछि कठोर भूमिगतकालमा लुम्बिनी, बाँके बर्दिया, मेची, भारत प्रवास र उपत्यकाको पार्टी कामको नेतृत्व गरेका थिए । उनी चर्चित नख्खु जेल ब्रेक काण्डका एक पात्र हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ७ : २० बजे