२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

चन्द्रनगर गाउँपालिकामा अपांगता भएकाहरुलाई ह्वीलचेयर वितरण



काठमाडौं । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा पहिलोपटक अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण गरिएको छ। जसले गर्दा समुदायमा उत्साह र खुसीको माहोल सिर्जना गरेको छ।

भारत सरकारको आर्थिक सहयोगमा नेपाल–भारत महिला मैत्री समाजद्वारा आयोजित कार्यक्रममा वडा नं. १ देखि ७ सम्मका २० जना अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर प्रदान गरिएको हो।

वडा नं. २ स्थित पर्ती बजारमा सम्पन्न कार्यक्रममा लाभग्राहीहरूको अनुहारमा विशेष खुसी देखिएको थियो। वडा नं. ४ की मन्दी देवी माझीले आफ्ना श्रीमानका लागि ह्वीलचेयर पाउँदा गहभरी आँसु पार्दै आयोजक र सांसद चन्दा चौधरीप्रति आभार प्रकट गरिन्।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले राजनीति र समाजसेवा एकअर्काको पूरक भएको बताउँदै आफूले सधैं समाजसेवालाई प्राथमिकतामा राखेको उल्लेख गरिन्। “जबसम्म जीवन रहन्छ, समाजसेवामा समर्पित रहने छु,” सांसद चौधरीको प्रतिबद्धता थियो।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले सांसद चौधरीलाई होनहार राजनीतिज्ञ र सक्रिय समाजसेवीको रूपमा वर्णन गर्दै चन्द्रनगरका हरेक विकास योजनामा उहाँको साथ र चासो रहेको बताए।

ह्वीलचेयर वितरण कार्यक्रममा सांसद चन्दा चौधरी, नेपाल–भारत महिला मैत्री समाज काठमाडौंका उपाध्यक्ष राधा कुमारी कायस्थ, गाउँपालिका अध्यक्ष राजकुमार महतो, समाजसेवी तथा विभिन्न जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १० : ०२ बजे