२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ



काठमाडौं । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बर्दगोरिया गाउँपालिका-२ की १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिका-३ का ४४ वर्षीय गोपाल विक र २ नम्बर वडाका १६ वर्षीय किशोरलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार घटना २६ माघको हो ।

२७ गते आफ्नो बहिनीमाथि सामूहिक बलात्कार भएको भन्दै पीडितकी दिदीले प्रहरीलाई खबर गरेकी थिइन्, डीएसपी बोहराले भने, गोपाल विकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर विकको पसलमा पुगेकी थिइन् ।

सोही क्रममा पसलको कोठामा लगेर जबरजस्ती करणी गरेको जानकारी आएको छ ।

इलाका प्रहरी कार्यालय बौनियाको टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ३ : ५२ बजे