कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

काठमाडौंपछि नवलपरासीमा ट्रमा सेन्टर सुरु हुदै



काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र सांसद विनोद चौधरीले संयुक्त रुपमा ट्रमा सेन्टरको सिलान्यास गरेका हुन् ।

१२ करोड ३४ लाख रुपैयाँ लागतमा संघ सरकारबाट निर्माण शुरु भएको सेन्टर डेढ बिघा बढी क्षेत्रफलमा बन्नेछ । १५ बेड क्षमताको भवन शिलान्यास गर्दै मन्त्री पौडेलले विशिष्टिकृत सेवाहरु विस्तार गर्ने सोच आफूहरुको रहेको भन्दै प्रदेशस्तरमा रहेका प्रादेशिक अस्पतालहरुबाट संघीय राजधानीमा उपलब्ध सेवाहरु विस्तार गर्ने प्रयास थालिएको बताए ।

क्यान्सर उपचार सेवा सातै प्रदेशमा भएको उल्लेख गर्दै मन्त्री पौडेलले क्रमैसँग मुटु, मृगौलालगायतका उपचारहरुसमेत विस्तार गर्ने लक्ष्य रहेको बताए ।

स्वास्थ्य बीमामा सुधार आफूहरुको प्राथमिकतामा रहेको भन्दै मन्त्री पौडेलले छरिएर हुने स्वास्थ्य क्षेत्रको खर्च एकीकृत गरेर स्रोतसमेत थप्ने अवस्थामा हरेक नागरिकलाई ५ लाख बराबरको स्वास्थ्य बीमा सुविधा दिन सकिने बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित भएसँगै सेन्टर खोल्ने चाहना राखेकामा अघि बढ्न सफल भएको भन्दै सघाउने संघीय सरकारलगायत सबैप्रति आभार प्रकट गरे ।

शहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना, चितवनले ठेक्का आह्वान गरेको थियो । १५ करोड बजेट लागतको बहुवर्षीयय ठेक्का अन्तर्गत एक्सिस एसियन कम्पनी, जनकपुरले निर्माणको ठेक्का पाएको हो ।

चिसापानी अस्पतालमा ट्रमा अस्पतालको निर्माण कुनै पनि हालतमा हुन नदिन विभिन्न पक्षहरुबाट थुप्रै अवरोधहरु भए पनि माननीय विनोद चौधरी र बर्दघाटका मेयर शम्भुलाल श्रेष्ठ, वडा अध्यक्ष गणेश क्षेत्री तथा समाजसेवी याम बहादुर थापाजस्ता व्यक्तित्वहरूले काँधमा काँध मिलाएर निरन्तर रूपमा लाग्नुभयो’, स्थानीयले भने ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : ४० बजे