आश्विन १२, २०८१ शनिबार Sat Sep 28 2024

त्रियुगा नगरपालिकाले करिब १२ करोड राजस्व संकलन गर्‍यो



काठमाडौं । उदयपुर जिल्लाको सबैभन्दा जेठो र ठूलो त्रियुगा नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा करिब १२ करोड राजश्व संकलन गरेको छ। राजश्व शाखाका प्रमुख रूपक तिमल्सिनाका अनुसार ११ करोड ७० लाख ६१ हजार ८३ रुपैयाँ संकलन भएको हो। जुन अघिल्लो आव भन्दा एक करोड ३० लाख ९३ हजार ३४३ रुपैयाँले बढी हो।
नगरपालिकाले आव ०७९/८० मा १० करोड ३९ लाख ६८ हजार ६४० रुपैयाँ राजस्व संकलन गरेको थियो। गत वर्षभन्दा बढी राजश्व संकलन भए पनि नगरपालिकाले लक्ष्य अनुसार भने राजस्व संकलन गर्न सकेको छैन।

कार्यालयले रजिस्ट्रेसन दस्तुरवापत मालपोत कार्यालयबाट ८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ करोड ७९ लाख ५ हजार ७०७ रुपैयाँ मात्र प्राप्त गर्दा लक्ष्य हासिल नसकिएको तिमल्सिनाले बताए।
उनका अनुसार सबैभन्दा बढी राजस्व मालपोत रजिस्ट्रेसन दस्तुरबाट प्राप्त भएको छ। त्यसैगरी प्राकृतिक श्रोत संकलन तथा बिक्री शुल्कबाट १ करोड २४ लाख ७० हजार १८२ रुपैयाँ, व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट ८७ लाख ५३ हजार ८२७ रुपैयाँ संकलन भएको उनले बताए।
यसैगरी सम्पति करबाट ८० लाख १ हजार ६५२ रुपैयाँ, बहाल करबाट ७८ लाख ६९ हजार ७६१ रुपैयाँ, नक्सा पास दस्तुरबाट ७८ लाख २६ हजार ६ सय, सिफारिस दस्तुरबाट ६७ लाख ८३ हजार ६६५, अन्य बिक्रीबाट ३४ लाख ९९ हजार ४९१, वनबाट रोयल्टीवापत ३२ लाख ६१ हजार ४७९ रुपैयाँ राजस्व संकलन भएको तिमल्सिनाले बताए।

नगरपालिकाले अन्य सेवा शुल्कवापत ३० लाख ५१ हजार ५७९ रुपैयाँ, अन्य दस्तुरवापत २७ लाख १० हजार ४६८, व्यक्तिगत घटना दर्ता दस्तुरबाट १० लाख ४२ हजार ५ सय संकलन भएको छ। प्रदूषण नियन्त्रण शुल्कवापत ८ लाख २५ हजार ३८२, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ७ लाख १८ हजार ५२ रुपैयाँ, बेरुजुबाट ६ लाख ७१ हजार ३२७, अन्य राजश्वबाट ५ लाख १६ हजार ४२८ रुपैयाँ राजस्व संकलन भएको छ।

संकलन गरिएका अन्य शीर्षकहरूको कर दस्तुरमा सरकारी सम्पति बहालबाट प्राप्त आय ५ लाख १२ हजार, परीक्षा शुल्कबाट २ लाख ४४ हजार, अन्य श्रोतबाट बाँडफाँट नहुने रोयल्टी २ लाख ३७ हजार ७५१ रुपैयाँ संकलन भएको छ।

नाता प्रमाणित दस्तुरबाट १ लाख ३३ हजार ८२५ रुपैयाँ, विज्ञापन करवापत ३९ हजार ३५०, पूर्वाधार सेवाको उपयोग कर २ हजार १५०, भूमिकर २ हजार १ सय ४०, सवारी पार्किङ शुल्क ९१०, विशेष अनुदान पुँजीगत कर ७ सय, साना सवारी साधन कर १५० रुपैयाँ र सबैभन्दा कम मनोरञ्जन करवापत ५ रुपैयाँ मात्र संकलन भएको शाखा प्रमुख तिमल्सिनाले बताए।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ५ : ०१ बजे