३० जेष्ठ २०८३, शनिबार Sat Jun 13 2026

भारत सरकारको सहयोगमा लोमान्थाङ गाउँपालिकामा छात्रावास भवनको शिलान्यास



सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ ।

काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको आज शिलान्यास गरिएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले आज संयुक्त रुपमा सो भवनको शिलान्यास गर्नुभएको हो ।

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा उक्त छात्रावास भवन निर्माण गर्न लागिएको दूतावासले जनाएको छ । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र गुम्बा विद्यालय व्यवस्थापनका प्रतिनिधिको उपस्थिति थियो । भारत सरकारको अनुदान सहयोग यस गुम्बा विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुईतले छात्रावास भवनको निर्माणमा उपयोग गरिनेछ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । हालसम्म चार सय ९० परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये मुस्ताङका १७ परियोजनासहित गण्डकी प्रदेशमा विभिन्न क्षेत्रमा ५९ परियोजना रहेका छन् ।

रासस

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ५ : ५७ बजे