आश्विन ३, २०८१ बिहिबार Thu Sep 19 2024

आजदेखि संघीय संसदको तेस्रो अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौँ । संघीय संसदको तेस्रो अधिवेशन आजदेखि शुरु हुदै छ । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अपराहन्न ४ बजेदेखि शुरु हुने छ । आजदेखि हुने सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशनको तयारी पनि पुरा भएको छ ।

सभामुख देवराज घिमिरेले अधिवेशनलाई प्रभावकारी तुल्याउन नयाँ समयसारिणी बनाएर काम गर्ने अठोट गरिएको बताएका छन् ।

संसद वैठकको तयारी बारे सभामुख घिमिरेले भने, ‘त्यो अठोटलाई कार्यान्वयन गर्न अहिले १५ दिनको समयसारिणी बनाएर कार्यान्वयन गर्दै अघि बढ्ने प्रयत्न हुनेछ । त्यसपछि पनि सोहीअनुसार नै जाउँ भन्ने तयारीका साथ अघि बढ्ने सोच छ । बजेट प्रस्तुति अघिको छलफलका लागि कानुनी प्रबन्धसहित अध्यादेश आएको छ । त्यसअनुसार कार्यतालिका मिलाइने छ ।’

उनले आफूहरुले दिएका सुझावलाई सरकारले सकारात्मक ढङ्गले लिएको बताए । सभामुख घिमिरेले भने, ‘प्री बजेटका प्राथमिकता र सिद्धान्तमाथि पहिले छलफल गर्ने, त्यसमा आएका सुझावका आधारमा सदनमा बजेट प्रस्तुत गरिने छ ।’

संसद् अधिवेशनमा सरकारले विधेयकको कमी हुन नदिने जानकारी दिए । उनले भने, ‘सदनलाई बिजनेस दिएर लक्ष्यअनुरुप कानुन निर्माण गर्न सवैको प्रयत्न हुनुपर्छ । निराशा होइन, आशा जगाउनेतर्फ शिक्षा लिएर अघि जानुपर्छ ।’

हिउँदे अधिवेशन सञ्चालनका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् । धमलाले भने, ‘सभामुखबाट विधेयकबारे कानुन, न्याय तथा संसदीय मामिलासम्बन्धी मन्त्रीसँग परामर्श भइसकेको छ । नियमितरुपमा गर्नुपर्ने सबै काम पूरा भएका छन् ।’
नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ ।

यस पटकदेखि अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरुपमा क्यालेण्डर बनाएर जानुपर्छ भन्नेमा दुवै सभामा तयारी भएको छ । तयारीका सन्दर्भमा हरेक १५–१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन गरिनेछ ।

यो हिँउदे अधिवेशनका लागि हाल सङ्घीय संसद्मा २४ विधेयक छन् भने १६ वटा विषयगत समिति छन् । हाल १५ विधेयकमा समितिमा दफावार छलफल भइरहेको छ ।

प्रतिनिधिसभाको सम्भावित कार्यसूची

अपराहन्न ४ बजेदेखि शुरु हुने बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने सङ्घीय सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनेछन् ।

बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्ने छन् ।

त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गर्ने छन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ११ : २८ बजे