कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

सभापति देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्वसचिव मित्रसेन दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

दाहालको आज बिहान काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत स्व दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

विसं २०१९ मङ्सिर ४ गते ओखलढुङ्गाको बरुणेश्वर–४ मा जन्मनुभएका दाहाल विसं २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार थिए । स्व दाहालले कांग्रेसद्वारा सञ्चालित विसं २०४२ को सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवनसमेत व्यतीत गरेको पार्टी कार्यालयले जनाएको छ ।

स्व दाहाल राजनीतिक क्षेत्रका साथै लामो समयदेखि दर्जनौँ सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध सङ्घसंस्थामा संलग्न रहँदै आएका थिए। दाहालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । दाहालको श्रीमती, दुई छोरा र एक छोरी छन् ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ११ : ४८ बजे