२९ असार २०८३, सोमबार Mon Jul 13 2026

जनप्रतिनिधिहरूको विवादका कारण गाउँसभा भएन



सर्लाही।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरुबीच विवाद भएपछि गाउँसभा अवरुद्ध भएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार महतो र उपाध्यक्ष गीतादेवी महतो समूहको आपसी विवादका कारण गाउँसभा हुन नसकेको हो । गाउँसभा नभएपपछि गाउँपालिकाका शिक्षक एवं कर्मचारीको तलब रोकिएको छ । तलब नपाएर उनीहरु आन्दोलनमा उत्रिएको छ ।राजनीतिक खिचातानी र जनप्रतिनिधिहरू बीचको आपसी विवादका गाउँपालिकाले गएको असार मसान्तमै गरिसक्नु पर्ने गाउँसभा चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि हुन सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कुनै पनि स्थानीय निकायले असार महिनाभित्रमा आर्थिक वर्षको वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गर्नुपर्छ ।वार्षिक बजेट, नीति तथा कार्यक्रम नआउँदा विकास निर्माणका काम प्रभावित भएका छन भने गाउँपालिका भित्रका शिक्षक तथा कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता नपाएर वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति एवं एकल महिलालाई गर्जो टार्न कठिन भएको छ ।गाउँपालिकाभित्रका २२ वटा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी पठनपाठन नै अवरुद्ध गरेर गाउँपालिका कार्यालयअगाडि धर्नामा बसेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १२ : १३ बजे