२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

बलात्कारपछि बालिकाको हत्या गर्ने रहिस खाँ जेल चलान



गुल्मी। गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिका हत्याका आरोपित एक व्यक्ति पूर्पक्षका लागि जेल चलान भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिका–७ का २३ वर्षीय रहिस खाँ पूर्पक्षका लागि सोमबार जेल चलान भएका हुन् ।

गत कात्तिक १७ गते उक्त बालिकाको शान्तिपुर घर नजिकैको हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा शव फेला परेको थियो । बालिकाको दर्दनाक अवस्थामा खोलामा शव फेला परेपछि स्थानीयले बलात्कारपछि हत्याको आशङ्का गर्दै विरोध र प्रदर्शनमा उत्रिएका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नवीनकिशोर प्रधानसहितको प्रहरीको टोली तत्काल घटनास्थल पुगेर अनुसन्धानपछि शङ्कास्पद व्यक्ति खाँलाई नियन्त्रणमा लिएको थियो ।मृतक बालिका शान्तिपुरको श्रीलङ्काटोलमा आमासँग डेरामा घरमा बस्दै आएकी थिइन् । आमासँग घर नजिकैको खेतमा काम गर्न गएकी उनी कात्तिक १६ गते बिहान ११ बजे खेतलालाई सुर्ति किन्न बजार गएपछि सम्पर्कबिहीन बनेकी थिइन । गुल्मी प्रहरीले घटनामा संलग्न भएको आरोपमा खाँलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि गुल्मी जिल्ला अदालतमा पेस गरेको थियो ।गुल्मी जिल्ला अदालतले सोमबार खाँलाई पूर्पक्षका लागि जिल्ला कारागार गुल्मी चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पाण्डेयले जानकारी दिए । हत्या आरोपी खाँलाई प्रहरीले गत कात्तिक १७ गते चन्द्रकोट गाउँपािलका ‐४ अन्तर्गत शान्तिपुरबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १ : १६ बजे