१ बैशाख २०८३, मंगलबार Wed Apr 15 2026

‘लप्से झरना महोत्सव’ काग तिहारमा



काठमाडौँ । वाकोट, शिवपुरी गाउँपालिका–६ स्थित लप्से झरनालाई लक्ष्य गरी यही कात्तिक २५ गते महोत्सव गरिने भएको छ । काठमाडौँ, गँगबुबाट २५ किमी उत्तर पर्ने सो झरनास्थल टोखा हुँदै पुग्न करिब एक घन्टा लाग्छ । करिब १५ मिनेट भने पैदल हिँड्नुपर्ने हुन्छ ।

‘आन्तरिक र बाह्य पर्यटनमा सहभागी बनौँ’ भन्ने नाराका साथ काग तिहारका दिन शिवपुरी वडा समितिको कार्यालय–६ को आयोजना र शिवपुरी समुन्द्रा युवा क्लबको व्यवस्थापन सहयोगमा ‘लप्से झरना महोत्सव’ गर्न लागिएको हो ।“चैत–वैशाखको सुख्खा मौसममा पनि पानी बग्ने सो झरनाको विशेषता हो”, आयोजक शिवपुरी–६ का वडाध्यक्ष विष्णु श्रेष्ठले भने, “महोत्सवको तयारीका लागि स्थानीय युवाहरूले बाटोसमेत निर्माण गरेका छन् । त्यहीँ नजिकको छङछङ गुर्जे झरनामा भने आगामी चैतमा महोत्सव गर्ने छौँ ।” उनका अनुसार विसं २०८१ मा चाहिँ टुनी खोला र चिलाउने छाँगा झरनासमेत समेटी चार झरना महोत्सव गरिने छ ।आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको महोत्सवको उद्घाटन गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले गर्ने जनाइएको छ । महोत्सवकै अवसरमा स्थानीय १०–१२ घरमा होमस्टे ‘घरबास’समेतको व्यवस्था मिलाइने छ । “स्थानीय बासिन्दालाई अहिले आफ्ना सामान्य उत्पादन बेसार, अदुवा, सुन्तला, इस्कुस, भोगटे आदि बिक्रीका लागि राख्न भनेका छौँ, अर्को साल प्रदर्शनी कक्ष समेत राखी व्यवस्थित गरिने छ” वडाध्यक्ष श्रेष्ठले भने ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १ : ५० बजे