आश्विन १९, २०८१ शनिबार Sun Oct 6 2024

नागरिक लगानी कोषद्वारा तीन महिनामा २६ करोडमाथि नाफा आर्जन



काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले बिगत तीन महिनामा २६ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउन, भदौ र असोजमा २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यो अघिल्लो वर्षको तुलनामा १३.८२ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासमा कोषले कूल २३ करोड २७ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसपालि कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी र ब्याज आम्दानीमा ह्वात्तै बढोत्तरी भएको छ । कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी १२.१० प्रतिशतले बढेर ३२ करोड ९५ लाख १ हजार रुपैयाँमा उक्लिएको छ ।

गत वर्ष कोषले सेवा तथा कमिसनबाट २९ करोड ३९ लाख २७ हजार रुपैयाँ मात्रै आम्दानी गरेको थियो । यस्तै, समीक्षा अवधिमा कोषको ब्याज आम्दानी २३.०३ प्रतिशतले बढेर १२ करोड ४५ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष सोही अवधिमा ब्याज आम्दानीबाट कम्पनीले १० करोड १२ लाख ३० हजार रुपैयाँ कमाएको थियो । नागरिक लगानी कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ भने जगेडामा २३ अर्ब ३८ करोड ४३ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ३ : ५० बजे