मंसिर ८, २०८१ शनिबार Sat Nov 23 2024

लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान



काठमाडौं । अर्थ मन्त्रालयले नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले कोषको कार्यकारी निर्देशकमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज (मंगलबार) सूचना गर्दै आजको मितीबाट २१ दिनभित्र आवेदन दिन आह्वान गरेको छ । कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।दरखास्त दिँदा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साइजको फोटो तथा व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । आवेदनका साथ अर्थ मन्त्रालयको राजश्व खातामा पाँच हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर पनि पेस गर्नुपर्ने छ ।तोकिएको म्यादभित्र प्राप्त भएका आवेदनहरुबाट पहिलो चरणमा बढीमा पाँच जनाको छनोट (सर्ट लिस्ट) गरी दोस्रो चरणमा सहभागी गराइने छ । दोस्रो चरणबाट उपयुक्त तीन जना उम्मेदवारको छनोट गरी सिफारिस समितिले अर्थ मन्त्रालय समक्ष सिफारिस गर्नेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ११ : ३२ बजे