कार्तिक ७, २०८१ बुधबार Wed Oct 23 2024

परराष्ट्रमन्त्री साउद र यूएसएआईडीकी प्रमुख प्रशासकबीच छलफल



वाशिङ्टन डीसी । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी सहयोग नियोग (यूएसएआईडी)का प्रमुख प्रशासक समान्ता पावरबीच मंगलबार भेटवार्ता भएको छ।

भेटका अवसरमा नेपालको विकासका प्राथमिकताहरूमा यूएसएआइडीका चालु कार्यक्रम र त्यसको प्रभावकारिताका विषयमा छलफल भएको छ। भेटका अवसरमा प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट नेपालको प्रजातान्त्रिक प्रक्रियाको प्रगति एवं मजबुत सम्बन्ध निर्माणका क्षेत्रमा प्रतिबद्धता जाहेर गरिन्।उनले नेपालको समावेशी आर्थिक विकासको अभिवृद्धिका लागि नियोगको प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकार तथा निजी क्षेत्रमार्फत लगानीका सम्भावनाका बारेमा नियोगको कार्यबारेसमेत अवगत गराइन्।युएसएआइडीको मुख्यालय वाशिङ्टन डीसीमा भएको सो भेटमा मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासमा विगत छ दशकभन्दा लामो समयदेखि युएसएआइडीले पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे।भेटका अवसरमा उनीहरूले दुई देशका बीचमा विगत ७५ वर्षभन्दा लामो समयदेखि नेपाल अमेरिकाबीचको निकट साझेदारी र सम्बन्धका विषयमा चर्चा गरे।सन् २०२२ को मे ५ मा पाँच वर्षका लागि नेपाल सरकार र यूएसएआईडीले गरेका विकाससम्बन्धी सम्झौताअनुसार ६५ करोड ९० लाख अमेरिकी डलर बराबरको सम्झौता भएको थियो।उक्त रकम नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भएर मध्यमस्तरको विकासशील देशका रूपमा प्रवेश भएपछिको अवस्थालगायतका विषयमा खर्च गर्ने उल्लेख गरिएको छ।यस भेटका अवसरमा सहयोगका यी र अन्य परियोजनाका विषयमा पनि कुराकानी भएको थियो। नेपालको आर्थिक, सामाजिक क्षेत्रको विकासमा अमेरिकाले लामो समयदेखि सहयोग पुर्याउँदै आएको चर्चा मन्त्री साउदले गरे।भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनलगायत दूतावासका अधिकारीसमेत सहभागी थिए।नेपालका विभिन्न विकास आयोजना तथा कार्यक्रममा अमेरिकी सहयोग नियोगको महत्त्वपूर्ण योगदान रहँदै आएको छ। सन् १९५१ मा भएको ‘प्वाइन्ट फोर प्रोग्राम’ अन्तर्गतको सम्झौताअनुसार अमेरिका नेपालको पहिलो द्विपक्षीय दाताका रूपमा विगत सात दशकभन्दा लामो समयदेखि महत्त्वपूर्ण विकास साझेदार बन्दै आएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १० : ५४ बजे