कार्तिक ७, २०८१ बुधबार Wed Oct 23 2024

महानगरपालिकाभित्रका तीन सडक खण्ड आजदेखि एकतर्फी



काठमाडौँ, । काठमाडौँ महानगरपालिकाभित्रका तीन सडक खण्ड आजदेखि एकतर्फी सञ्चालन गर्ने निर्णय गरिएको छ । कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र सालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौँ प्लाजा) पुग्ने सडक एकतर्फी सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार त्रिपुरेश्वरतर्फबाट काठमाडौँ–ललितपुर जोड्ने नयाँ पुल (विश्व निकेतन) हुँदै गुसिङगाल निस्किने सडक एकतर्फी बनाइएको छ । “त्रिपुरेश्वरतिरबाट प्रवेश गर्न पाइए पनि ललितपुरतर्फबाट त्रिपुरेश्वरतिर आउँदा नयाँ पुल कटेर बायाँतर्फ मोडिएर आउनुपर्ने छ”, भट्टले भने, “त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा मिलन टोल, नयाँ पुल हुँदै जानुपर्ने छ ।”प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतली सडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौँ प्लाजाबाट बायाँ मोडिएर महेन्द्र सालिकतर्फ जान पाइने छैन ।सडक एकतर्फी बनाइएको जानकारी दिनका लागि सडक क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका प्रहरी टोली खटाइएको प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ३ : १२ बजे