कार्तिक ७, २०८१ बुधबार Wed Oct 23 2024

दसैँ–तिहारमा माटोले घर रङ्गाउने प्रचलन हरायो



काठमाडौं । कुनै बेला दसैँ तथा तिहार नजिकिँदै गर्दा मुसिकोट नगरपालिका नगरपालिका–७ की चम्पा पुनलाई रातो माटोले घर रङ्गाउन भ्याई नभ्याई हुन्थ्यो । गाउँमा धेरै पुराना र मौलिक घरहरु हुन्थ्ये ।

प्रत्येक घर यो बेला रङ्गाउन सबैलाई उत्तिकै हतार हुन्थ्यो । पछिल्लो समय त्यो प्रचलन फेरिएको छ । पहिले जस्तो घर रङ्गाउन माटो, कमेरोको खोजी हुँदैन किनभने गाउँमा बनेका सबै घरमा सिमेन्टको प्रयोग बढेको छ भने, रङ्ग पनि बजारकै प्रयोग हुन थालेको छ ।यसले ग्रामीण जीवनमा एकातिर सहजता त ल्याएको छ भने अर्कोतिर घरमा हुने खर्च र लगानी बढाएको छ । ‘पहिला पहिला हामी कमेरो, माटोले घर लिप्ने गथ्यौँ, घरमा विभिन्न रङ्को माटोले लिपेपछि मात्र दसैँ आएकोजस्तो लाग्थ्यो, घर रमाइलो हुन्थ्यो’, चम्पा पुनले भनिन् ।पछिल्लो समय गाउँमा घर लिप्ने माटो खन्ने प्रचलन हराउँदै गएको छ । मौलिक घरहरु पनि बिस्तारै हराउँदै गएका छन् । सिमेन्ट र रडको प्रयोग गरेर घर निर्माण भइरहेका छन् ।गाउँमा बन्ने नयाँ घरमा सिमेन्टको प्रयोग हुन थालेपछि मौलिक घरको सङ्ख्या घट्दै जान थालेको छ । मौलिक घरहरुमा पनि बजारको रङ्ग प्रयोग हुँदै जानु र सिमेन्टको प्रयोग गरिएकाले पनि घरहरु माटो तथा कमेरोले रङ्गाउन नमिल्ने भएकाले घर रङ्गाउने प्रचलन लोप हुँदै गएको मुसिकोट–१ का गोविन्द केसीको भनाइ छ ।स्वास्थ्यका हिसाबले ढुङ्गा माटोको गारोले निर्माण गरिएका घर उपयुक्त मानिए पनि आकर्षक देखाउने होडबाजीका कारण गाउँमा सिमेन्ट र रङ्गको प्रयोग बढेको हो ।मौलिक घर र मौलिक जीवनशैली संरक्षणमा भने कुनै पनि स्थानीय सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको गुनासो पनि स्थानीयबाट सुनिन्छ ।हाम्रो जीवनशैली, संकृति, वेशभूषा र भाषा पर्यटनका महत्वपूर्ण आधार रहेको भन्दै आधुनिकताका नाममा आफ्ना मौलिकता भुल्न नहुने स्थानीय उदय केसी बताउछन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  २ : १९ बजे