३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल



बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताएका छन् ।

आज चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि दिएको प्रतिक्रियामा उनले सो धारणा राखेका हुन् । प्रधानमन्त्री दाहालले भने, “विश्वमा बढ्दो विज्ञान एवं सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल स्वरुपमा गइरहेको छ, हामीले पनि नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका छौँ ।”उनले हाल नेपाल विज्ञान प्रविधिको विकासको प्रारम्भिक चरणमै रहेकाले नेपालमा सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरे ।नेपालमा चीनका उद्योगी व्यवसायीहरुले गर्ने लगानीका क्षेत्रहरु धेरै भएको र तीमध्ये पनि नयाँ र लाभ लिन सकिने एक क्षेत्र भनेको सूचना प्रविधि रहेकाले यस क्षेत्रमा लगानीका लागि उनले चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरे । नेपालमा लगानी गर्न आउने विश्वका सबै लगानीकर्ताहरुको लगानीको सुरक्षा नेपाल सरकारले गर्ने र लगानीका लागि आवश्यक वातावरण पनि निर्माण गरिदिने प्रतिबद्धता पनि उनले सो अवसरमा व्यक्त गरेका थिए ।हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालसहित उनको प्रतिनिधिमण्डल आज सो कम्पनीको मुख्यालयमा पुगेको थियो । कम्पनीका उच्च अधिकारीहरुले प्रधानमन्त्रीलाई विशेष स्वागत गरेका थिए । उक्त बहुराष्ट्रिय कम्पनीले मोबाइल फोन, ल्यापटपलगायतका इलेक्ट्रोनिक वस्तुहरु उत्पादन गर्ने गर्दछ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ६ : १६ बजे