१० बैशाख २०८३, बिहिबार Thu Apr 23 2026

पार्टीलाई व्यवस्थित गरेर विधि नियमअनुसार लानुपर्छ : प्रकाशमान सिंह



काठमाडौं।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो बहुमत छ भन्दैमा नियम मिच्न नपाइने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस प्रदेश १ (ख) र काठमाडौं वडा नम्बर ३१ को संयुक्त सम्मेलनमा नेता सिंहले नियम मिच्दा पार्टीभित्रको प्रजातान्त्रिक आचरणमा असर पुग्ने बताए ।

उनले आफू यस्तो प्रवृतिविरुद्ध अभियान चलाएर आएको मान्छे भएको बताए । ‘वर्किङ कमिटीमा आफ्नो बहुमत छ भन्दैमा विधि र नियम मिच्नु भएन भन्ने कुरालाई अभियानको रुपमा चलाएको मान्छे हो, म,’ उनले भने । उनले पार्टीलाई व्यवस्थित गरेर विधि नियमअनुसार लानु पर्ने बताए ।

‘यो बेकारको अस्वस्थ्य प्रतिपर्धा एकआपसमा नगरौँ है, सबैले काम गर्दै जाऔँ, अब अवसर पाउनका लागि धेरै फ्याक्टरहरू मिल्न पर्ने हुन्छ,’ उनले भने, ‘इच्छा गर्नु आफ्नो अधिकारको कुरा हो, तर आफूले चाहेको कुरा प्राप्त भएन भने बाटो नै बिराउने गरेर पार्टीको गतिविधि अगाडि बढ्दैन भन्ने हेक्का राख्नु पर्छ ।’

नेता सिंहले राजनीतिमा धैर्य हुनु पर्ने बताए । व्यक्तिगत पहिचानभन्दा पार्टीलाई केन्द्र बिन्दुमा राखेर काम गर्नु पर्ने उनको भनाइ छ । उनले विरोधीहरूको भएन भन्ने नारालाई टिपेर पार्टी कमजोर भयो भनेर हिँड्न नहुने बताए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  १२ : ३० बजे