३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

ठेकेदार र उपभोक्ता समितिबीच भुक्तानी नपाएपछि विवाद चर्किदै



काठमााडौं । पाल्पाको माथागढी गाउँपालिकामा असार मसान्तको अन्तिम काम सम्पन्न गर्दा पनि भुत्तानी नभएपछि ठेकदार र स्थानीय उपभोक्ताबीच विवाद झन् चर्किएकाृ छ । उनीहरुबीच काम गरेबापतको भुक्तानी नभएको भन्दै विवाद चर्किएको हो ।

गाउँपालिकाको प्राविधिक प्रणाली बिग्रिएपछि असार मसान्तको बैंकिङ कारोबार हुने अन्तिम दिन २४ गते ठेकेदार र उपभोक्ता समितिले भुक्तानी नपाएपछि २५ गतेदेखि हात हालाहालको अवस्थामा पुगेको थियो ।

आक्रोशित उपभोक्ताले कर्मचारीमाथि जाइलाग्ने अवस्था सृजना भएपछि बढेको विवाद अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् । कर्मचारीले आफूहरुमाथि हातपात भएको, विभिन्न धम्की आएको भन्दै सबै काम छाडेर बसेका छन् भने गाउँपालिकाले २४ गते प्राविधिक समस्याका कारण रोकिएपनि पछि भुक्तानीको प्रकृया मिलाएकाले अब विवाद बढाउन नहुने पक्षमा रहेको छ ।

असार २३ गते सूत्र प्रणालीमा पटक–पटक समस्या आएको र २४ गते बेलुकासम्म उक्त प्रणाली नचल्दा केही फाइल सदर हुन बाँकी रहेको र सूत्र प्रणाली चालु रहँदासम्म कुनै पनि भुक्तानी बाँकी नराख्नेगरी काम भइरहेको, भौचर उठाइसकेका फाइलहरू इएफटी सदर गर्न राती पौने १२ बजेसम्म भौचर उठाई सबै योजनाको काम सकिएपनि उठिसकेका भौचरहरूको पनि इएफटी गर्न नमिल्ने गरी प्रणाली लक भएकाले समस्या आएको प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिए ।

भुक्तानीसम्बन्धी धेरै सेवाग्राहीको गुनासो आएकामा जनप्रतिनिधिलाई समेत यथार्थ व्यहोराको रिपोर्टिङ गरी सेवा पुनः सुचारु भई भुक्तानी हुने सम्भावनाबारे आश्वस्त पारेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ३ : ३३ बजे