माघ १४, २०८१ सोमबार Tue Jan 28 2025

कर्मचारीमाथि हातपात भएपछि नगरपालिकाका कर्मचारी आन्दोलनमा



काठमाडौं । बुढीगंगा नगरपालिका– ७ का वडाध्यक्ष भुवनसिंह केसीका छोरा दिलीप केसीले गत असार २१ गते कर्मचारीमाथि दुव्र्यबहार गर्दै हातपात गरेपछि राज्यको सम्पत्ति दुरुपयोग गर्नबाट रोक्न खोज्दा उल्टै ज्यान मार्ने धम्की र मुद्दा खेप्नुपर्ने अवस्था आएको भन्दै कार्यालयको सम्पूर्ण कामकाज बन्द गरी कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

बाजुराको बुढीगंगा नगरपालिकाका कर्मचारीहरू बुधबार सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएका कर्मचारीहरुले आकस्मिक स्वास्थ्य सेवाबाहेक अन्य सबै सेवा बन्द गरेर जिल्ला प्रशासन कार्यालयअगाडि आन्दोलनमा उत्रिएका छन। कानुनबमोजिम पिडितले न्याय नपाएसम्म कार्यालय बन्द गर्ने आन्दोलनकारीहरुले चेतावनी दिएका छन् ।

दिलीपले कर्मचारीमाथि हातपात गरेपछि पीडित कर्मचारीले कानुनी बाटो अपनाउँदा उनलाई ज्यान मार्ने धम्की दिएको नगरपालिका कर्मचारी डम्मर थापाको भनाइ छ । नगरपालिकाका कर्मचारीहरूले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै जिउज्यानको सुरक्षाको माग गरेका छन्। उनीहरूले सुरक्षित रूपमा काम गर्ने वातावरण सिर्जना गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन्।

केसीले गत बिहीबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उप्रेन्द्र साउदलाई योजनाको काम कम भएको, तर बिल उठाएर पूरै भुक्तानी दिनुपर्ने भन्दै दुव्र्यबहार गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ५ : ३५ बजे