१० बैशाख २०८३, बिहिबार Thu Apr 23 2026

विराटनगरमा साइकल चालकमाथि मुक्का हान्ने एक पक्राउ, दुईजना फरार



काठमाडौं । नेपाल प्रहरीले विराटनगरमा साइकल चालकमाथि मुक्का हान्ने एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले १९ वर्षीय आयुष भेटवाललाई बिहीबार नै पक्राउ गरेको थियो।

उनले विराटनगर महानगरपालिका–६ का २७ वर्षीय पवन साहलाई मुक्का प्रहार गरेका थिए। गत बुधबार राति साढे ८ बजे विराटनगर महानगरपालिका–४ दुधफार्मस्थित कोसी राजमार्गमा आयुषसहित १८ वर्षीय कुशल भेटुवाल र तेह्रथुमका ३० वर्षीय रोशन कार्की कारमा सवार थिए।

राजमार्गमा विपरीत दिशाबाट आइरहेका साहलाई देखेपछि कारबाट ओर्लिएर उनीहरूले मुक्का हानेका थिए। मुक्का प्रहारपछि साह बेहोस भएका थिए।

बेहोस भएका साहलाई आयुषले सडकमा केही परसम्म घिसारेको सिसीक्यामेरा फुटेजमा देखिएको छ । पक्राउ परेका आयुषमाथि ज्यान मार्ने उद्योगमा म्याद थप भई अनुसन्धान भइरहेको र दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  २ : ५८ बजे