काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बोलेको कुरा पुरा गर्न चुनौती दिएका छन् । महामन्त्री थापाले सोमबार एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेकोप्रति लक्षित गर्दै मेयर साहले महामन्त्री थापालाई यस्तो चुनौती दिएका हुन् ।
थापाले सोमबार एक कार्यक्रममा शिक्षण संस्थामा राजनीतिक दलको झोला बोकेर जान पाइँदैन भनेका थिए । महामन्त्री थापाले सोमबार संघीय शिक्षा ऐन जस्तै विश्वविद्यालय ऐन ल्याउनुपर्ने बताउँदै त्यसमा नै कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले नचिन्ने अवस्था बनाउनुपर्ने बताएका थिए । महामन्त्री थापाको सोही भनाईलाई लक्षित गर्दै बालेन्द्रले सामाजिक सञ्जाल मार्फत आज मंगलबार बोलेको कुरा पुरा गर्न चुनौती दिएका छन् ।