बैशाख १७, २०८१ सोमबार Mon Apr 29 2024

राष्ट्रिय वाणिज्य बैकको एक्सटेन्सन काउन्टर प्रहरी प्रधान कार्यालय नक्साल



काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औँ एक्सटेन्सन काउन्टरको थालनी गरेको छ । सो एक्सटेन्सन काउन्टरको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक समारोहका बीच मंगलबार उद्घाटन गरेका हुन् ।

शाखा कार्यालय नक्सालमार्फत रहने उक्त एक्सटेन्सन काउन्टरबाट नगद तथा चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोबाइल बैंकिङ सेवा, एटीएमलगायतका सेवा उपलब्ध छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीहरुलाई बैंकिङ सेवा लिन सजिलो हुने बताएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ सेवा दिने बताउँदै नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार प्रकट गरे । बैंकको बेसरेट सस्तो भएकाले कर्जाको ब्याजदर कम भएको उल्लेख गर्दै उनले प्रविधिमा आधारित सेवालाई बैंकले जोड दिँदै आएको बताए ।

उपकार्यकारी अधिकृत पवन रेग्मीद्वारा स्वागत मन्तव्य राखिएको कार्यक्रम ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदीले सञ्चालन गरेका थिए।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा। आशा सिंह, टेकप्रसाद राई, दीपक थापा, सुदीप गिरी, टेकबहादुर तामाङ, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु, बागमती प्रादेशिक कार्यालयका प्रबन्धक, शाखा कार्यालय नक्सालका शाखा प्रबन्धकलगायत वरिष्ठ प्रहरी अधिकृतहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ९ : १० बजे