२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

बोलेर होइन कामबाट पुष्टि गरौँ : मन्त्री गुरुङ



स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बोल्नेभन्दा पनि काम गर्ने समय आएको बताएका छन्।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले शनिबार स्याङ्जाको वालिङमा आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनमा उनले नेताले जनतालाई आश्वासन नभई कामले पुष्टि गर्नुपर्ने समय भएको बताएका हुन् ।

“आफूले चुनेर पठाएका जनप्रतिनिधिबाट जनताले आशा गरेका छन्”, उनले भने, “जनताले झुटा आश्वासन नभई विकास निर्माण चाहेका
छन् ।” उनले राजनीतिक दलका नेताको बोलीभन्दा पनि कामको प्रतिफल (उपलब्धि)लाई मूल्याङ्कनको आधार बनाउने भएकाले पनि कामले पुष्टि गर्नुपर्ने बताए ।

फरक प्रसङ्गमा बोल्दै उनले राजनीतिक नेतृत्वमा रहेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिए। उनले सम्पत्ति छानबिनको सुरुआत आफैँबाट गर्न पनि आग्रह गरे।

भ्रष्टाचारीको जात, लिङ्ग, वर्ण केही नहुने भएकाले भ्रष्टाचारमा संलग्न जो–कोही भए पनि निष्पक्ष ढङ्गबाट छानबिन गर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ११ : ११ बजे