काठमाडौं । नेपाली कांग्रेसमा आस्था राख्ने कानून व्यवसायीहरुको छाता संस्था डेमोक्रेटिक लयर्स एशोसियसन (डीएलए) को चितवनमा भएको महाधिवेशनले सीताराम केसीलाई अध्यक्षमा चयन गरेको छ । शुक्रबार र शनिबार चितवनको टाँडीमा सम्पन्न ११ औं महाधिवेशनबाट केसी अरु चारजना प्रत्यासीलाई पराजित गर्दै अध्यक्षमा विजयी बनेका हुन् ।
२०७५ साउनको १३ गतेपछि डीएलएको महाधिवेशन हुन सकेको थिएन । महाधिवेशनका लागि विभिन्न मिति तय गरिए पनि कोरोना महामारी, मातृ पार्टी नेपाली कांग्रेसको महाधिवेशन र देशका तीनवटै तहमा भएका निर्वाचनहरुका कारणले डीएलएको महाधिवेशन स्थगित हुँदे आएको थियो । यद्यपी, यस पटक भने महाधिवेशन सम्पन्न भएर नयाँ कार्यसमिति चयन भएको छ ।
अध्यक्षमा निर्वाचित भएका केसीले ६५३ मत ल्याएर विजयी बन्दा उनका प्रतिस्पर्धी लक्ष्मी देवी दाहाल रावतले १७७, केदार कार्कीले १३०, लक्ष्मण थपलियाले ५५
र कृष्ण घिमिरे भुषणले ५३ मत ल्याएका छन् । केसीले ल्याएको मत अरु तीजना प्रतिस्पर्धीले ल्याएको भन्दा पनि बढी हो ।
त्यसैगरी महासचिवमा निर्वाचित भएका ज्ञानेन्द्रप्रसाद अधिकारीले ३९५ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी रहेका पूर्णप्रकाश बस्नेतले २३६ मत ल्याएर पराजित बने । उपाध्यक्षमा ३१५ मतका साथ जगन्नाथ ढकाल, महिला उपाध्यक्षमा ६१९ मतका साथ कविता थापा कार्कीले बाजी मारे ।
प्रदेश उपाध्यक्षमा कोशीबाट कविता बस्नेत र मधेशबाट रामान्द साह, गण्डकीबाट भूमिश्वर शर्मा, लुम्बिनीबाट विष्णुप्रसाद धिताल, कर्णालीबाट पदमबहादुर शाही र सुदूरपश्चिमबाट गंगाराम पाध्याय निर्विरोध निर्वाचित भएका छन् । बागमतीबाट जनकराज श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भए ।
खुला सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवमा धनमाया राना निर्वाचित भएका छन् भने कोषाध्यक्षमा हरिबहादुर बस्नेत निर्वाचित भएका छन् ।

