काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्याउने बताएका छन् । आज (मंगलवार) नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरुको अनुसन्धान गरी निचोडमा पुग्ने बताए । उनले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पती विवरणहको बारेमा खोजिनीति गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । उनले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निष्कर्षमा पुर्याउनुपर्ने र नागरिकलाई यसबारेका शंकाहरुको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरु खोलिने छन् । क्रमशः खुल्छन् । खुलाइन्छन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पती विवरणहको बारेमा खोजिनीति गरिन्छ । ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजिनीति गरिन्छ । ठूलाठूला भयानक हत्याकाण्डहरु छन्, ती हत्याकाण्डहरुको खोजिनीति गर्नुछ ।
चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड। त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरु छन्। के भएको हो भन्नेकुराको सत्यतथ्य आएको छैन । यी सबैकुराहरु पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ ।’