माघ ७, २०८१ सोमबार Mon Jan 20 2025

गाउँपालिकाले निजी जग्गामा सरकारी भवन निर्माण गरेको फेला



जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिकाले व्यक्तिको निजी जग्गामा लाखौँको लगानी गरेर सरकारी भवन निर्माण गरेको फेला परेको छ ।

गाउँपालिकाको कार्यालयले वडा नं ६ मगरथाना गाउँमा तीन व्यक्तिको नाउँमा दर्ता कायम रहेको एक जग्गामा पालिकाको रु १४ लाखको लगानीमा सरकारी भवन निर्माण गरेको भेटिएको छ ।

साबिक सुन्दर पुर गाविस–३ बस्ने उसमान नदाफ, वारिस नदाफ र इसलाम नदाफको नाउँमा मालपोत कार्यालयबाट जारी भएको जग्गाधनी दर्ता प्रमाणपूर्जामा सुन्दर पुर–३ ख कित्ता नम्बर ३८६ को क्षेत्रफल ०–०–४१÷२ र कित्ता नं ३८७ को क्षेत्रफल ०–०–१÷२ दुवै गरी जम्मा पाँच धुर जग्गा कायम रहेको जग्गामा गाउँपालिकाले १३ लाख ९७ हजार तीन सय ३० को लागतमा मदर्सा भवन निर्माण गरेको कार्यस्थलमा जडान गरेको होर्डिङ बोर्डमा उल्लेख छ ।

गापाको आर्थिक वर्ष २०७९÷८० को योजनामार्फत सोनमा–६ मगरथाना गाउँको वारिस नदाफको घर नजिकै ‘मदिना मदर्साको भवन निर्माण’ योजना २०७९ मङ्सिर २० गते सञ्चालन गरेर २०८० वैशाख ३० गते सम्पन्न गरेको छ । गापाले जग्गाधनीमध्ये वारेस नदाफलाई नै उपभोक्ता समितिको अध्यक्ष बनाएर सात सदस्यीय समितिमार्फत सो योजना सम्पन्न गरेको तथ्य फेला परेको हो ।

वडा नं १ का वडाध्यक्ष अशोककुमार यादवले गापा अध्यक्ष विश्वेश्वर यादवले आर्थिक अनियमितता गर्ने उद्देश्यले व्यक्तिगत जग्गामा सरकारी पैसा लगानी गरेर मदर्सा भवन निर्माण गरेको आरोप लगाए ।

गापा उपाध्यक्ष जहिदा खातुनले आफूलाई सुरुमा सो योजना व्यक्तिगत जग्गामा सञ्चालन भएको जानकारी नै नभएको र पछि आफूलाई अनुगमन गर्न उपभोक्ता समितिका अध्यक्षलगायतले भन्न आउँदा मात्रै आफूले व्यक्तिगत जग्गामा सरकारी लगानी गरिएको थाहा पाएपछि आफूले अनुगमनसमेत नगरेको बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ५ : ३३ बजे