बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

बजेटबारे छलफल गर्न प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै



काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बर्षे अधिवेशन आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुसार बजेट अधिवेशन बस्न लागेको हो ।

संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिने छ । प्रतिनिधिसभा बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ ।

सभामुख घिमिरेले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुनेछ । त्यसपछि सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

आजको बैठकमा कानुन, न्याय संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्ने कार्य तालिका छ । यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०–८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ११ : ४८ बजे