बैशाख १८, २०८१ मंगलबार Tue Apr 30 2024

जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण हुने भएपछि भक्तजनहरु हर्षित



नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिले जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण गर्न लागेको छ । उपमहानगरपालिकाको वडा नम्बर २ स्थित बागेश्वरी मन्दिरभित्र रहेको जुँगे महादेवको मूर्ति जानले पुल पुनःनिर्माण गर्न लागेको हो । उपमहानगरपालिकाले उक्त पुल पुनःनिर्माण लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरी बोलपत्रमार्फत् काम थालेको जनाएको छ ।

उपमहानगरपालिकाले तालमाथि रहेको जुँगे महादेवको मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाई मूर्ति यथावत् राखेर प्रवेशमार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागेको हो । मन्दिर तालमाथि रहेकाले तालको पानी सुकाएर पुनःनिर्माण कार्य एक वर्षभित्र सम्पन्न गर्ने गरी काम थालिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताएका छन् ।

“बागेश्वरी प्रसिद्ध शक्तिपीठ पनि भएकाले डिपिआर बनाएर मन्दिर आसपास सौन्दर्यकरण गर्ने योजना निर्माण भएको छ”, उनले भने । प्रमुख विष्टले महाआरती सुरु गरेको करिब चार महिनापछि धार्मिक पर्यटनको महत्व बढेकाले भारतीय पर्यटकको आगमन बढेको जानकारी दिँदै महाआरतीमा नजिकका विभिन्न जिल्लाबाट समेत सहभागिता रहेको बताए ।

मन्दिरको प्रवेशमार्ग वषौं पहिले बनाइएकाले एकदमै जीर्ण भएपछि उपमहानगरपालिकाले नयाँ निर्माण गर्न लागेको हो । अब मन्दिरसम्म पुग्ने बाटो फराकिलो बनाइएपछि मन्दिरभित्र पूजा गर्ने स्थान पनि फराकिलो हुने प्रमुख विष्टले जानकारी दिए । नयाँ संरचना निर्माण भएपछि मन्दिरभित्रका घाटका क्षेत्र फराकिलो हुने र नजिकै पार्कसमेत निर्माण हुने उपमहानगरपालिकाले जनाएको छ ।

बागेश्वरी मन्दिरका मठाधीश चन्द्रनाथ योगीले जुँगे महादेवको दर्शन गर्न जाने भक्तजनका लागि साँघुरो भएको पुल नयाँ ढाँचामा निर्माण हुन लागेको जानकारी दिँदै पुरानो पुललाई अग्लो बनाएर पिलर राख्न लागिएको बताएका छन् ।

प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको तालको बीच भागमा रहेको जुँगे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेश मार्ग रहेका कारण शिवरात्रिलगायतका विभिन्न चाडपर्वमा भक्तजनको भीड हुने भएकाले दुर्घटना हुने जोखिम रहेको बताइएको छ । उक्त मन्दिरको पुल पुनःनिर्माण हुने भएपछि भक्तजनहरु हर्षित भएका छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ६ : ४५ बजे