काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक माध्यमिक विद्यालय तहमा छोटो अवधिको सीपमूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । महानगरले नगरक्षेत्रभित्रका ५६ वटा सामुदायिक माध्यमिक विद्यालयमा उक्त सीपमूलक तालिमको आयोजना गरेको हो । महानगरले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीको लागि छोटो अवधिको सीपमूलक तालिम र पुस्तकविहीन कार्यक्रमको सुरुवात गर्न लागेको हो ।
विद्यार्थीले पुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी, सीपमूलक र व्यवहारिक शिक्षा प्राप्त गरी स्वरोजगारयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम नयाँ नभएर गुरुकूल शिक्षामा लागेको ब्रेकलाई निरन्तरता दिने बताएका छन् ।
त्यस्तै, उनले यो कार्यक्रमले विद्यालयमा सीप मात्रै नभएर मानिसको जीवन के हो भनेर सिकाउन खोजिएको बताए । मेयर शाहले पछिल्लो समय सानो र ठूलो काम भनेर श्रम गर्नेहरूको इज्जत समेत गर्न नजानेकाले सानो वा ठूलो जुनसुकै कामलाई सम्मान गर्न सिकाउने उद्देश्य रहेको बताएका छन् ।
त्यसैगरी, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो जीवनशैलीलाई व्यवस्थित बनाउने सीप हातमा छैन भने पढेर ल्याएको उच्च नम्बर, अंक र प्रतिशतले काम नगर्ने बताइन् । उनले परीक्षामा विद्यार्थीको कति प्रतिशत नम्बर आयो प्रथम, द्वितीय भए भन्ने कुरा क्षणिक भएको भन्दै त्यो एकछिनको लागि महत्वपूर्ण जस्तो लाग्ने बताइन् ।