चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले निःशुल्क नयाँ विद्युत् मिटर जडान गर्न सहयोग उपलब्ध गराएको छ । गाउँपालिकाले त्यस क्षेत्रमा रहेका सिमान्तकृत चेपाङ समुदायक घरमा बिजुलीका नयाँ मिटर जडान निःशुल्क गर्न सहयोग गरेको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार सो समुदायको घरमा विद्युत् मिटर जडान गरेको छ । विद्युत् मिटर जडान गर्ने क्रममा
गाउँपालिकाले हालसम्म वडा नं ६ को २१ घरमा मिटर जडान गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जनाएका छन् । भुसालका अनुसार वडा नं ७ को २३ र वडा नं ४ का १० घरमा पनि छिट्टै जडान गरिने छ । साथै चालू आव सो कार्यक्रमका लागि रु दुई लाख बजेट विनियोजन गरेकाले अन्य घरमा समेत जडान गरिने उनको भनाइ छ।
गाउँपालिकाले– ४ र ६ मा इच्छाकामनामा ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गरिरहेको मुग्लिनस्थित मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थामार्फत निःशुल्क मिटर जडान गरिरहेको छ, भने वडा नं ७ मा नेपाल विद्युत् प्राधिकरणमार्फत मिटर जडान गरिरहेको छ ।
गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी यो कार्यक्रम ल्याएको भएपनि विपन्न वर्गका अन्य समुदायको घरपरिवारमा समेत निःशुल्क विद्युत् मिटर जडान गरिने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको भनाइ छ । त्यस्तै अध्यक्ष गुरुङले आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिएर उनीहरुको न्यूनतम् विद्युत् महसुलसमेत गाउँपालिकाले तिरिदिने योजना भएको बताएका छन् ।