माघ ६, २०८१ आइतबार Sun Jan 19 2025

बिस्केट जात्राका अवसरमा आज टोखामा बिदा



काठमाडौं । टोखा नगरपालिकाले बिस्केट जात्राका अवसर पारेर आज (सोमबार) सार्वजनिक बिदा दिएको छ ।

टोखा नगरपालिकाको दशौँ कार्यपालिका बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्केट जात्राको उपलक्ष्यमा आज सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

बिस्केट जात्राको उपलक्ष्यमा टोखा नगरपालिकाभित्रका वडा कार्यालय तथा स्वास्थ्य संस्था, विद्यालयहरू बन्द रहने प्रमुख अधिकारीले जनाए ।

काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो जात्रा मानिने टोखाको बिस्केट जात्राको ऐतिहासिक महत्वसमेत रहेको छ । सामाजिक सद्भावका साथ मनाइने टोखाको बिस्केट जात्रामा विशेष खटमा सजाइएका गणेश, कुमारी, सपनतीर्थ, मसानकाली र चण्डेश्वरी लगायतका देवीदेवतालाई नारायण पोखरीमा स्नान गराउने चलन रहेको छ ।

यही वैशाख १ गतेदेखि सुरु भएको बिस्केट जात्राको अन्तिम दिन बैशाख ४ गते देवीदेवताहरूलाई आ–आफ्नो स्थानमा विराजमान गराउने चलन छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ८ : २६ बजे