बैशाख २५, २०८१ मंगलबार Wed May 8 2024

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा न्यौपाने



चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिको अध्यक्ष पदमा डा.विजयराज न्यौपाने नियुक्त भएका छन् । उनी सो अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत थिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ ।

नवनियुक्त अध्यक्ष डा।न्यौपानेले अस्पताललाई क्यान्सरसम्बन्धी थप जनचेतना जगाउने, उपचार गर्ने, अध्यापन गराउने अनुसन्धानसँगै क्यान्सरको क्षेत्रमा देशकै मुख्य थलोका रूपमा विकास गर्ने जानकारी दिए ।

उनले चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसबाट विसं २०३७ मा हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी छ वर्ष चितवन, नवलपरासी र पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सेवा गरेका छन् । विसं २०४३ मा तत्कालीन सोभियत संघको युक्रेनमा उनले त्यहाँको एमडी (यहाँको एमबिबीएस सरह) अध्ययन गरे । विसं २०५० मा एमडी (यहाँको एमबिबीएस सरह)को चिकित्सक भई चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाए । डा.न्यौपानेले परिवार नियोजन संघमा छ वर्ष सेवा गरेका थिए ।

उनले विसं २०५६ मा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरुवात गरेका थिए । विसं २०५७ मा बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स (बिपीकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिष्ट एन्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहाँ बिताए । विसं २०६० मा एमडी उत्तीर्ण गरी त्यसपछिको उनी विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत छन् ।

क्यान्सर अस्पतालमा विभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभवपछि अवकाश पाएका डा।न्यौपाने क्यान्सर अस्पतालमा रहँदा हस्पिस एन्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  १० : ०५ बजे