जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको २३ नम्बर वडा कार्यालय पहिलाकै ठाउँमा राख्नुपर्ने भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् । जनकपुरधामको २३ नम्बर वडा कार्यालय पहिलादेखि बिन्धीमा रहेकोमा अहिले लादोबेलामा सारेकोप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासी वडाध्यक्ष राघवेन्द्र साहविरुद्ध खनिएका हुन् ।
वडा कार्यालयमा वडाध्यक्ष र सचिव केही दिनदेखि नआएको हुँदा स्थानीयको कामकाज प्रभावित भएको थियो । यसरी दैनिक जल्दाबल्दा कामहरु ठप्प भएपनि उनीहरूले सोमबार वडा कार्यालयमा धर्नासमेत दिएका थिए ।
स्थानीय चन्दन रायले साह वडाध्यक्षमा निर्वाचित भएदेखि नै जातीय तथा क्षेत्रीय द्वन्द्व भड्काएर एकापसमा झगडा गराउने गरेको आरोप छ । वडाध्यक्ष साहले कुनै लिखित सूचना नदिइ वडा कार्यालयलाई आफूखुसी अरु ठाउँमा सारेर अस्थायी वडा कार्यालय चलाएको पूर्ववडाध्यक्ष शत्रुघन पाण्डेले आरोप लगाएका छन् ।
धर्नामा बसेका उनीहरूले तत्काल साविककै ठाउँमा वडा कार्यालय सञ्चालन गर्नुपर्ने माग गरेका छन् । साविकको ठाउँमा वडा कार्यालय चाँडै सुचारु नभए कडारूपमा अगाडि बढ्ने बिन्धीबासीले चेतावनीसमेत दिएका छन् ।
वडा कार्यालय सार्ने विषयलाई लिएर बिन्धीबासीले लगातार विरोध गर्दै आएका छन् । बिन्धीमा वडा कार्यालय रहँदा सबैलाई पायक पर्ने, सबै वडाबासीलाई सहज बाटोको व्यवस्था भएकोले पनि सो कार्यालय अन्यत्र सार्न नहुने स्थानीयको भनाइ छ ।
यसैबीच, जनकपुरधाम उपमहानगरपालिकाले पनि वडा नम्बर–२३ को वडा कार्यालय साविककै भवनमा चलाउन पत्राचार गरेको छ । तर, वडाध्यक्ष साहले भने उपमहानगरको निर्णयलाई नटेरी आफूखुसी गर्दै आएका छन् ।
उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले गत ९ चैतमा वडाध्यक्षलाई पत्राचार गर्दै साविकदेखि बिन्धीमा सञ्चालन हुँदै आएको वडा नम्बर–२३ को वडा कार्यालयलाई साविककै भवनमा तत्काल सञ्चालन गर्न निर्देशन दिए पनि वडाध्यक्ष साहले अटेर गरेको स्थानीयको गुनासो छ ।
वडाध्यक्ष साहले आफ्नो वडाबाट हुने काम ८ चैतदेखि गोविन्द सेवा समिति दूधमती पुल बेलाबाट सञ्चालन गरिरहेका छन् । वडाध्यक्ष साहले आफूले कानुनसम्मत तरिकाले वडाको काम सञ्चालन गरिरहेको दाबी गरे । उनले बिन्धीमा वडा कार्यालयको निजी भवन नहुँदा अव्यवस्थित तरिकाले सञ्चालन भइरहेको अवस्थामा कार्य सञ्चालन गर्न असहजता उत्पन्न भएको बताए ।
वडाध्यक्ष साहले तत्कालका लागि मात्र गोविन्द सेवा समिति दूधमती पुल बेलाबाट कार्यालय सञ्चालन भइरहेको बताए । ‘म निर्वाचित जनप्रतिनिधि हुँ, मेरो पनि केही अधिकार क्षेत्र होला । त्यसको प्रयोग मैले गर्न पाउनु पर्दछ,’ उनले भने ।
वडाध्यक्ष साहले यसअघि दुईरदुईपटक वडा कार्यालयको निजी भवन निर्माणका लागि उपमहानगरले बजेट उपलब्ध गराए पनि पूर्ववडाध्यक्षले भवन निर्माण नगरी बजेट फ्रिज गराएको आरोप पनि लगाए ।
वडामा रहेको ९०३ नम्बर कित्ताको जग्गा अलपत्र परेको अवस्थामा भवन निर्माणका लागि ३५ लाख रुपैयाँ बोर्ड निर्णयबाट बजेट निकासा गर्न लगाएको र चाँडै भवन निर्माणको प्रक्रिया छिटै अगाडि बढाउने जनाइएको छ ।