काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेसका अर्का केन्द्रीय सदस्य तथा सांसद डा. सुनिल शर्मा मुम्बई पुगेका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइ रहेका डा. भण्डारीको स्वास्थ्य अवस्था बुझ्न डा. शर्मा चिकित्सकसहित त्यहाँ पुगेका हुन् ।
डा. शर्माले मुम्बई पुगेर भण्डारीको स्वास्थ्य सुधारमा भइरहेको प्रगतिका बारेमा जानकारी लिएका छन् । पार्टीका तर्फबाट बर्न सेन्टरका प्रमुख प्लास्टिक सर्जन डा. शंकरमान राईलाईसमेतको टोली लिएर त्यहाँ पुगेका शर्माले भण्डारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
डा। भण्डारी बर्नस् सेन्टरमा गत फागुन ४ गतेदेखि उपचाररत छन् । फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनकी ८६ वर्षीया आमाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।

