बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु



नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना घाइतेलाई काठमाडौँमा उपचार गराइँदै छ ।

बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडाँै जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार काठमाडौँको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो । घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : १० बजे