माघ ६, २०८१ आइतबार Sun Jan 19 2025

गाउँपालिकाबाटै कृषि मिटर वितरण भएपछि किसान हर्षित



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कृषि मिटर गाउँमै उपलब्ध गराउने भएको छ । गाउँपालिकाको रोहबरमा कृषि मिटर कृषि मिटर गाउँमै उपलब्ध हुने भएपछि किसानहरू हर्षित भएका छन् ।

कृषि मिटरका लागि किसानले सदरमुकाम मलंगवासम्म धाउँदा समय, पैसा खर्च र हैरानी व्यहोर्दै आएका थिए । अबदेखि गाउँपालिकाबाटै उक्त सेवा किसानले पाएपछि किसानहरु हर्षित भएका हुन् । गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय मलंगवा वितरण केन्द्रको समन्वयमा किसानहरुलाई कृषि मिटर वितरण गर्न थालेको छ ।

विद्युत चुहावट रोक्न महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि मिटर लिनेको संख्या पनि बढेको छ । गाउँपालिकाले पहिलो पटक विद्युत चुहावट अन्त्य गर्न अभियान थालेपछि विद्युत प्राधिकरणका कर्मचारीहरु गाउँपालिकामै आई पक्रिया पुरा गरेर मिटर वितरण गर्न थालेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाका प्रमुख उमेश यादवले जनाएका छन् ।

कृषि मिटर जडान गर्न मिटर आवेदन फारम भर्ने र पेश गर्ने, फारम रुजु गर्ने, स्वीकृत गर्ने, मिटर खर्च भौचर भर्ने, मिटर दस्तुर बुझ्ने, मिटरको लगत कायम गर्ने, मिटर जडान गरी सबै चरणको काम गाउँपालिकामै भएपछि अब प्राविधिकरणले किसानको खेत खेतमै पुगेर कृषि मिटर जडान गरिने प्रमुख यादब बताउँछन् ।

‘विद्युत प्राधिकरण धाउँदा–धाउँदा एक वर्ष लाग्यो,’ वडा ५ का किसान रजाउल मंसुरले भने, ‘कहिले यो मिलेन कहिले त्यो कागज मिलेन भनेर प्राधिकरणले आएको थियो, तर अब भने गाउँपालिकामै किसानले कृषि मिटर पाउनु भनेको किसानको सौभाग्य हो ।’

अर्का किसान किसान पुनित महतोले सिँचाइको अन्य विकल्प नहुँदा डिजेलबाट चल्ने पम्पसेटबाट खेती सिँचाइ गर्दा धेरै खर्च हुने गरेमा अब भने कम खर्चमा खेती हुने बताए ।

चालू आर्थिक वर्ष ०७९÷८० मा कृषि विद्युतीकरण र किसानको बिल भुक्तानीका लागि गाउँपालिकाले एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गएको पुस २९ गते सम्पन्न १२औँ गाउँसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल गाउँपालिकाले तिरिदिने निर्णय गरेको थियो ।

चन्द्रनगर गाउँपालिकाले नेपालमै पहिलो पटक कृषि मिटर गाउँपालिका बाटै वितरण गरिरहेको गाउँपालिका अध्यक्ष राजकुमार महतो बताउँछन् । अध्यक्ष महतो बताउँछन्, ‘३८ हजार जनसंख्या रहेको यस पालिकामा ९९ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन् । कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको हो ।’

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ९ : ४९ बजे