बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

राखेपका पूर्वसदस्यसचिव लामा कराते महासंघको अध्यक्षमा निर्वाचित



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिवमा युवराज लामा निर्वाचित भएका छन् । नेपाल कराते महासंघको महाधिवेशनले अध्यक्षमा आइतबार लामा निर्विरोध निर्वाचित भएका हुन् ।

लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन भएको छ। राखेपले गत माघ १२ गते ३ महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत पश्चात साधारण सभा तथा निर्वाचन सम्पन्न गर्ने गरी लामाको अध्यक्षतामा नेपाल कराते महासंघ, तदर्थ समिति गठन गरेको थियो।

लामा अघिको तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिना भित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरेर जिम्मेवारी दिएको थियो । तर ४ वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचन समेत गर्न नसकेपछि राखेपले करातेका पूर्व खेलाडी लामाको अध्यक्षमा तदर्थ समिति गठन गरेको थियो।

आइतबार निर्वाचित भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी तथा उपाध्यक्षमा प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईं, मजिन्द्र सिंह र श्याम शेर्पा रहेका छन्। दावा गुरुङले महासचिव, ध्वजमान मोक्तान र बलराम मित्रले सचिव तथा किशोरप्रसाद भट्टराईले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।

रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल र शशिकुमार तितुङ सदस्यमा चयन भएका छन् ।

राखेपअन्तर्गत कानून शाखाका प्रमुख एवं निर्वाचन अधिकृत नारायणराज अर्यालका अनुसार आज बसेको बैठकले २ सदस्य र ५ सल्लाहकार मनोनयन गरेको छ। कमला राना र सन्जयकुमार राई सदस्य, दिपेश शाक्य, विष्णु कार्की, निवासगोपाल वैद्य, हरि विष्ट र गणेश कार्कीलाई सल्लाहकारमा चयन गरिएको छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराए।

साधारणसभामा केन्द्रीय कार्यसमिति, सात प्रदेश तथा सितोरियो, वादोरियो, सोतोकान र गोजुरियाका गरी ६७ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन प्रमुख अर्यालको भनाइ छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ९ : ३४ बजे