बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

पछिल्लो १० वर्षयता उपत्यका पालिकाभित्र दोब्बर जनसंख्या वृद्धिदर



काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहमा पछिल्लो जनसंख्या वृद्धिदर उच्च १० वर्षयताकै देखिएको छ । जनसंख्या बढ्नेमा काठमाडौंको सबैभन्दा धेरै कागेश्वरी मनोहरा नगरपालिका क्षेत्र पहिलो नम्बरमा देखिएको छ ।

चैत्र १० गते सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदन अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको जनसंख्या २०६८ को तुलनामा जनसंख्या बढोत्तरीको संख्या दोब्बर देखिएको हो । २०६८ मा ६० हजार २३७ रहेको उक्त स्थानको जनसंख्या बढेर २०७८ मा १ लाख ३० हजार ४३३ पुगेको हो । सो स्थानको वार्षिक जनसंख्या वृद्धिदर ७ दशमलब ४१ प्रतिशतले बढेको पाइएको छ ।

त्यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिकाको जनसंख्या पनि करिब दोब्बर बढेको पाइएको छ । २०६८ मा ६२ हजार १७२ रहेको उक्त स्थानको जनसंख्या २०७८ मा बढेर १ लाख २३ हजार ११६ पुगेको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिकामा २०६८ मा ८१ हजार ४४३ जनसंख्या रहेकामा २०७८ मा १ लाख ५१ हजार ४७९ पुगेको छ । काठमाडौंको नागार्जुन नगरपालिकामा २०६८ मा ६७ हजार ४२० रहेको जनसंख्या बढेर २०७८ मा १ लाख १५ हजार ४३७ पुगेको पाइएको छ ।

सबैभन्दा बढी जनसंख्या घट्नेमा भने अछामको साफेबगर नगरपालिका पहिलो स्थानमा छ । त्यहाँको जनसंख्या २०६८ सालमा ३३ हजार ७८८ रहेकामा २०७८ मा घटेर २५ हजार ८९१ मा झरेको छ । बागलुङको जैमिनी गाउँपालिकाको जनसंख्या २०६८ मा ३२ हजार ४६ रहेकामा २०७८ मा २४ हजार ६२८ मा झरेको छ । अछामकै मंगलसेन नगरपालिकाको जनसंख्या पनि १० वर्षमा ६ हजार भन्दा धेरै घटेको छ ।

२०६८ सालमा ३२ हजार ५०७ रहेको यहाँको जनसंख्या २०७८ मा घटेर २६ हजार ५०७ मा आइपुगेको छ । स्याङ्जाको गल्याङ नगरपालिका र पर्वतको फलेबास नगरपालिका पनि धेरै जनसंख्या घट्ने ५ पालिकाभित्र परेका राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

काठमाडौं उपत्यकाभित्र जनसंख्या बढेसँगै मोफसलमा जनसंख्यामा घट्दो रुपमा देखिएको जिल्लामध्ये सबैभन्दा कम जनसंख्या मनाङको छ र सबैभन्दा धेरै जनसंख्या घट्ने जिल्लामा रामेछाप रहेको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ९ : ४४ बजे