काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिचा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।
गत चैत३ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।
यसैगरी समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुखहरू, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरू, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।