४ बैशाख २०८३, शुक्रबार Sat Apr 18 2026

आरुघाट गाउँपालिकाद्वारा कृषकलाई अनुदानमा हाते ट्र्याक्टर



काठमाडौं । गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउँदै लैजाने उद्देश्यका साथ कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ ।

गाउँपालिकाले पालिकाभित्रका ६९ कृषक छनोट गरेर ७० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिए । कृषि पेसामा नै आत्मानिर्भर बन्दै आएका कृषक छनोट गरेर गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको उनले बताए ।

“हामीले सार्वजनिक सूचनामार्फत आवेदनका लागि आह्वान गरेका थियाँै”, उनले भने, “आवेदन दिएका एक सय ३५ जनामध्ये छनोट गरेर ट्र्याक्टर वितरण गरिएको हो”, परम्परागत शैलीमा खेती गर्दै आएका कृषकको कृषि पेसालाई प्रविधिमैत्री बनाउँदै कृषिमै उनीहरुलाई आत्मनिर्भर बनाउनका लागि सहयोग पु¥याउने उद्देश्यले पालिकाले अनुदानमा ट्र्याक्टर वितरण गरेको अध्यक्ष गुरुङ्गको जानकारी दिए ।

यसबाट कृषिकर्मलाई काम छिटो, छरितो बनाउनुका साथै कृषि क्षेत्रलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउँदै लैजान सकिने उनको भनाइ छ । “पुराना कृषि प्रविधिको माध्यमबाट मात्रै अब कृषि उत्पादनमा वृद्धि गर्न गाह्रो हुन्छ, गाउँपालिका अध्यक्ष गुरुङले भने, “जोत्नका लागि गोरु पाल्न छोडे, जग्गा बाँझो बस्न थाल्यो, बाँझो जमिनमा खेती गर्न कृषकलाई हौसला प्रदान गर्न ट्र्याक्टर वितरण गरिएको हो ।”

पालिकाभित्रका सबै वडाका कृषकलाई समेट्ने गरी ट्र्याक्टर वितरण गरिएको उनको भनाइ छ । “हामीले निवेदन परेका कृषक वास्तविक कृषक हुन् की होइनन् पुष्टि गरेर मात्र अनुदानमा ट्र्याक्टर उपलब्ध गराएका हाँै”, गुरुङले भने ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १ : १८ बजे