काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जग्गा वर्गीकरण तथा कित्ताकाटको समस्या समाधान गर्नको लागि काम सुरु गरेको छ । गाउँपालिकाले वडा नम्बर १ बाट भूमि वर्गीकरण तथा कित्ताकाट समस्या समाधानको लागि वडा नम्बर १ बाट काम शुरु गरेको हो ।
भुमि वर्गीकरणको जनताको घर दैलोमा गई छलफल गरि अन्तिम चरणको कार्य हुदैँ छ । सो कार्य पालिका कार्यालयको टेबलमा केही सिमित व्यक्ति द्वारा गरिने परम्परा तोड्दै जनताको सहभागितामा भुमि वर्गीकरण गर्ने काम थालिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका, वडा कार्यालय र सर्वसाधारण जनताको उपस्थितिमा सर्वदलीय बैठकद्वारा निर्णय गरेर वडा भरीका जग्गाको १० किसिममा वर्गीकरण गर्ने कार्य आजबाट शुरु भएको जनाइएको छ ।
चन्द्रनगर गाउँपालिका वडा नम्बर १ का बडा अध्यक्षको आयोजनामा र गाउँपालिकाको भूमि शाखाको विशेष पहल तथा भुमि विज्ञको सहजीकरणमा जग्गा वर्गीकरण अर्थात किताकाटको समस्या समधानको बिषयमा सर्वदलीय र सर्वपक्षीय छलफल गरी नक्सामा नै सो कार्य सम्पन्न गरिएको छ ।
त्यसैगरी जग्गा वर्गिकरण, कित्ताकाट र नक्सांकन गर्ने कार्य गर्न अब ६ वटा वडाहरु बाँकी रहेकाले उक्त वडाहरुमा पनि छिट्टै समस्या समाधान गरिने गाउँपालिकाले जनाएको छ । यसरी सर्वदली बैंठकबाट निर्णय गराइ जनताकै सहभागितामा बिनाविवाद जग्गा वर्गिकरण तथा नक्साङ्न गरिएको यो गाउँपालिकाको पहिलो काम हो ।